गत आर्थिक वर्ष २०८२–८३ को नाफाबाट लाभांश घोषणा गरेकामध्ये १३ सूचीकृत कम्पनीले घोषणा गरेको लाभांश पाउने अवधि अझै बाँकी छ।
यसमध्ये दुई कम्पनीमा भने आज (मंगलबार) सम्म लगानी गर्नेले लाभांश पाउने छन्।
यी दुवै कम्पनीको यही बुधबार बुक क्लोज मिति तोकिएको छ। बुक क्लोज मितिभन्दा अघि स्वामित्व हुनेले लाभांश पाउँछन्।
यी कम्पनी हुन्, बरूण हाइड्रो र मञ्जुश्री फाइनान्स।
बरूण हाइड्रोपावर
बरूण हाइड्रोपावरले यस पटक ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यही कात्तिक २० गते वार्षिक साधारणसभा आयोजना गर्न लागेको यस कम्पनीले कात्तिक १० गते बुक क्लोज मिति तोकेको छ।
यही कारण मंगलबारसम्म सेयर स्वामित्व हुनेले यसको लाभांश पाउनेछन्।
लाभांश घोषणाअघि ३०६ रूपैयाँमा यसको सेयर किनबेच भइरहेकोमा हाल ३३२ रूपैयाँमा कारोबार भइरहेको छ। यसबीच मूल्य ३४६ रूपैयाँसम्म पुगेको थियो।
बरूणले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत साधारण सभामा लैजाँदै छ। सभाले पारित गरेपछि विद्युत नियमन आयोग र धितोपत्र बोर्डमा हकप्रद स्वीकृतिका लागि जानेछ।
यसले गत वर्ष पनि एक बराबर एक अनुपातमा नै हकप्रद सेयर जारी गरेको थियो। योसहित यो तेस्रो पटक हो।
हकप्रदका कारण पनि बोनसको लागि बुक क्लोजपछि पनि यसको सेयरमा आकर्षण कायमै रहन सक्छ।
बरूणले गत आर्थिक वर्ष २०८२–८३ मा दुई करोड ३३ लाख रूपैयाँ नाफा कमाएको छ। सोभन्दा अघिको वर्ष एक करोड ९८ लाख रूपैयाँ नाफा गरेको थियो।
२०८१ चैतसम्म नोक्सानमै रहेको बरूण त्यसयता नाफामा जान थालेको छ। नियमित लाभांश नदिए पनि यसले २०८१–८२ देखि लगातार ५ प्रतिशत हाराहारी लाभांश दिएको छ।
यसको सेयर मूल्य न्यून विन्दु आसपास नै छ। यसको एक वर्षको उच्च मूल्य ४०१ रूपैयाँ र न्यून मूल्य २९८ रूपैयाँ हो।
बरूणको प्रतिसेयर आम्दानी २ रूपैयाँ ८ पैसा मात्रै छ। यसको सबै सम्पत्तिको आधारमा अहिले एक कित्ता सेयरको मूल्य (प्रतिसेयर नेटवर्थ) भने १३२ रूपैयाँ छ।
मञ्जुश्री फाइनान्स
मंगलबारसम्म मञ्जुश्री फाइनान्सको सेयर हुनेले यसले घोषणा गरेको ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश पाउनेछन्। यसले पनि बुधबारका लागि बुक क्लोज मिति तोकेको छ।
यस पटक सबैभन्दा धेरै लाभांश क्षमता देखिएको वित्त कम्पनी हो मञ्जुश्री। तर यसले क्षमता अनुसार सबै रकमबाट लाभांश भने दिएन।
अघिल्लो वर्ष लाभांश बाँडेर बाँकी रहेको करिब १५ करोड र गत वर्षको २६ करोडसहित करिब ४२ करोड रूपैयाँ वितरणयोग्य नाफा रकम देखाएको थियो।
यसले अहिले लाभांशको रूपमा बोनस सेयर र नगद गरी २७ करोड रूपैयाँ प्रयोग गर्न लागेको हो। विगत पाँच वर्षमा वार्षिक औसत १८.५२ प्रतिशत लाभांश दिएको छ।
मञ्जुश्रीको गत आर्थिक वर्ष २०८२–८३ मा नाफा १८ प्रतिशत बढेको छ। यसअघि ३१ करोड ८९ लाख रूपैयाँ नाफा कमाएको यसले गत आर्थिक वर्ष ३७ करोड ४८ लाख रूपैयाँ कमाएको हो।
यसको खुद ब्याज आम्दानी ४.५४ प्रतिशत बढेर ८८ करोडबाट ९२ करोड रूपैयाँ पुगेको छ। शुल्क, कमिसनबाट हुने र अन्य आम्दानी पनि सामान्य बढेको छ।
नोक्सान व्यवस्थामा यसअघिभन्दा कम रकम राखेपछि पनि नाफा बढ्न सहयोग पुगेको हो।
यसअघि नोक्सान व्यवस्थामा यसले ९ करोड रूपैयाँ राखेको थियो। यसपालि ६ करोड रूपैयाँ राखेको छ।
मञ्जुश्रीको गैरसञ्चालन खर्च र अन्य खर्च पनि घटेको छ। यसले पनि नाफा वृद्धिमा सहयोग पुगेको हो।
यसको निष्क्रिय कर्जा ३.१२ प्रतिशतबाट बढेर ३.४३ प्रतिशत पुगेको छ। यो सुविधाजनक अवस्थामै छ।
प्रतिसेयर आम्दानी २३.१४ रूपैयाँबाट बढेर २७.८५ रूपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १९३ रूपैयाँ छ।
२०६९ कात्तिकबाट सेयर कारोबारमा आएको मञ्जुश्रीको सेयरले एक वर्षमा ९३८ रूपैयाँको उच्च मूल्य र ५४५ रूपैयाँको न्यून मूल्य बनाएको छ।