कुनै बेला लगानीकर्ताले मार्जिन कारोबार संचालन गर्न नेपाल स्टक एक्चेन्जलाई निकै दबाब दिएका थिए । तर, नेप्सेले मार्जिन कारोबार संचालनको लागि सबै नीतिगत प्रकृया पुरा गरेर कार्यन्वयनमा लैजादा भने लगानीकर्ताले चासो देखाएका छैनन । नेप्सेले मार्जिन कारोबार संचालन गर्न भनेको एक महिना वितिसक्दा पनि मार्जिन ऋण लिने लगानीकर्ताको संख्या शुन्य छ ।
त्यसो त, दुई वर्ष अघि २०६४ साल कात्तिकमै धितोपत्र बोर्डले मार्जिन कारोबारको लागि नीतिगत व्यवस्था गरेको थियो । लामो समयसम्म कारोबार संचालन नभएपछि गत असोज १ मा धितोपत्र बोर्डले नेप्सेलाई कारोबार चाडै सुरु गर्न निर्देशन दिएको थियो । त्यसपछि असोज बाटनै नेप्सेले मार्जिन कारोबारको अनुमती पाएका ब्रोकर कम्पनीलाई मार्जिन कारोबार संचालन गर्न भनेको थियो ।
नेपाल स्टक एक्चेन्जका प्रवक्ता मुरारी पराजुली नेप्सेले गर्नपर्ने आवस्यक नीतिगत तयारी गरेको बताए । उनले भने, ‘हामीले नीतिगत व्यावस्था र कारोबारको लागि पूर्वाधार बनाएका छौ, तर अहिले सम्म कुनै पनि ब्रोकर कम्पनीले मार्जिन कारोबार भएको जानकारी दिएका छैनन् ।’
उनका अनुसार मार्जिन कारोबार गर्ने ब्रोकर कम्पनीले कारोबार भएमा दैनिक रिपोर्ट नेप्सेलाई दिनुपर्छ । तर अहिलेसम्म कुनै पनि ब्रोकर कम्पनीले त्यस्तो जानकारी दिएका छैनन् ।
किन देखाएनन् त लगानीकर्ताले चासो ?
मार्जिन कारोबारको सेवा लिने लगानीकर्ता हुन्, उनीहरुलेनै चासो नदेखाएको ब्रोकर कम्पनीहरुले बताउछन् । पूँजीबजार लगानी कर्ता संघकी अध्यक्ष राधा पोखरेलले अहिलेको बजारको अवस्था हेरेर कसैले पनि ऋण लिएर शेयर बजारमा लगानी गर्ने वातावरण नभएकाले मार्जिन कारोबार नभएको बताइन् ।
अहिले मार्जिन सुविधा दिएर भन्दा पनि लगानीकर्ताको मनोविज्ञान बलियो बनाउनुपर्ने उनले दाबी गरिन् । ‘पहिले बजारलाई सुधार गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि लागनी गर्न ऋण खोज्दै लगानीकर्ता आउछन् । बजार सुधारका लागि सरकारले प्रमुख भुमिका खेल्नुपर्छ ।’
‘लामो समय सम्म भारित औषत गणना विधीको विषयमा अन्यौल भयो, त्यसले पनि लगानीको वातावरण विग्रियो त्यसपछि लगानीको वातावरण सुधार गर्न अल्पकालिन मध्यकालिन तथा दिर्घकालिन माग सहित ५८ बुदे माग पत्र सरकारलाई बुझायौ त्यसको पनि कार्यन्वयन भएन यस्तो अवस्थामा लगानीकर्ताले ऋण लिएर लगानी गर्दैनन्,’ पोखरेलले तर्क गरिन् ।
ब्रोकर संघका अध्यक्ष भरत रानाभाट पनि पोखरेलको तर्क सँग सहमती जनाउदै बजार घटेकै कारण लागनीकर्ताले चासो नदेखाएकाले मार्जिक कारोबार नभएको बताए ।
‘मार्जिन कारोबार छोटो समयका लागि गरिने ऋण हो,’ उनले भने, ‘लगानीकर्ता लगानी गरेपछि तत्कालै प्रतिफल आउने अवस्थामा मात्रै ऋण लिएर लागनी गर्छन् ।’
ब्रोकर सँग लिएको ऋण एउटा कम्पनीमा १० प्रतिशत भन्दा बढी लगानी गर्न पाउने व्यवस्थाले गर्न पनि लगानीकर्ता आर्कषित नभएको हुनसक्ने उनले बताए ।
व्याजदरका महङ्गो भएका कारणले लगानीकर्ता नआएको भन्ने तर्क भने सहि नभएको उनले दाबी गरे ।
‘स्वभाविक रुपमा वाणिज्य बैंकबाट ऋण लिएर लगानीकर्तालाई दिने हुनाले मार्जिन ऋणको ब्याजदर वाणिज्य बैंकभन्दा बढी हुन्छ,’ उनले भने, ‘तर, हामीले फाइनान्सले भन्दा कममा दिने बताइरहेका छौ त्यसैले ब्याजदरले गर्दा लगानीकर्ता आएनन् भन्नु सहि होइन ।’
उनी ब्रोकर कम्पनीले भने १४ प्रतिशत व्याजदरमा तोकिएको बताए ।
ब्रोकर कम्पनीले दिने मार्जिन कारोबार सेवा के हो ?
कुनै पनि कम्पनीको शेयर खरिद गर्दा लगानीकर्ताले आफूसँग भएको शेयरको निश्चित रकम सापटीका रुपमा ब्रोकर कम्पनीले ग्राहकलाई दिनु नै मार्जिन कारोबार हो । लगानीकर्ताले किन्न खोजेको शेयरको ५० प्रतिशत सम्म तिरेपछि बाँकी ५० प्रतिशत ब्रोकर कम्पनीले ऋणको रुपमा दिन्छ । ब्रोकरले लगानी गरिदिए बापत लगानीकर्ताले निश्चित ब्याज भने तिर्नुपर्छ । नेप्सेले यसरी लिइने ब्याजदर भने तोकेको छैन । लगानीकर्ता र ब्रोकरको आपसी सहमतीमा यस्तो ब्याजदर तोकिने प्रावधान छ ।
ब्रोकर कम्पनीले तिरिदिएको रकम ग्राहक वा लगानीकर्ताले व्याजसहित निश्चित अवधिपछि भुक्तानी गर्नु पर्छ । यदी ग्राहकले सो रकम नतिरेमा धितोपत्र बेचेर ब्रोकर कम्पनीले अशुल्न सक्ने अधिकार दिइएको हुन्छ । आफ्नो रकम अशुलेपछि बाँकी रकम भने सम्बद्ध ग्राहकलाई दिनुपर्दछ ।
यस्तो कारोबार प्रणाली जोखिमपूर्ण पनि उत्तिकै हुने गर्दछ। किनेको धितोपत्रको बजार मूल्य झर्दै जाने हो भने एकातर्फ सम्पत्तिको मूल्य झर्ने र अर्काेतर्फ व्याजदरको भार समेत बोक्नुपर्ने भएकाले दोहोरो जोखिम यसले निम्त्याउन सक्ने कतिपयको विश्लेषण छ। यद्यपी अहिले पनि बैंकहरुमार्फत सेयर धितो राखेर कर्जा लिन पाइने व्यवस्था छ ।
कतिपयले भने बजारमा तरलताको अभाव हुँदा बैंकहरुमार्फत सेयर धितोमा कर्जा नपाइने समस्या रहेकाले यसको आवश्यकता भएको दावी गर्दै आएका छन्