नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकले आइपिओ र बोन्डमार्फत १३ अर्ब रुपैयाँ जुटाउने भएको छ।
बैंकले विदेशी वित्त बजारमा बोन्ड जारी गरी ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। बैंकले सिंगापुर वा लण्डनको बजारमा अफसोर बोन्ड जारी गर्ने जनाएको छ।
त्यस्तै स्वदेशमा सर्वसाधारणलाई आइपिओ जारी गरी ८ अर्ब रुपैयाँ जुटाउने छ। कुल २० अर्ब चुक्ता पुँजी रहने बैंकले सर्वसाधारणलाई आइपिओ जारी गर्न बाँकी छ।
आइतबार बसेको बैंकको पहिलो साधारणसभाले यी दुई निर्णयलाई पारित गरेको हो। गत फागुनबाट औपचारिक कारोबार प्रारम्भ गरेको बैंकको आज होटल र्याडिसन, लाजिम्पाटमा साधारणसभा सम्पन्न गरेको हो।
स्रोत परिचालनतर्फ बैंकले २ वटा जलविद्युत आयोजनाहरुमा ३ अर्ब लगानी स्वीकृत गरिसकेको छ। बैंकले ३२ मेगावाटको करुवा सेती र ४९ मेगावाटको मिडल मेवा जलविद्युत आयोजनाका लागि कर्जा स्वीकृत गरेको छ।
सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारका परियोजनाको पहिचान एवं आवश्यक अध्ययन भइरहेको बैंकले जनाएको छ।
सरकारबाट मनोनित १ जना सञ्चालक बाहेक संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने अन्य ३ जना सञ्चालकहरु पनि सभाबाट छनौट भएका छन्।
सभाबाट अनुज अग्रवाल, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी आगामी ४ वर्षे कार्यकालको लागि सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन्। रामशरण पुडासैनी सरकारबाट मनोनित सञ्चालक छन्।