ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई नियुक्त गरेको एक सदस्यले जानकारी दिए।
भदौ १ देखि लागू हुनेगरी ४ वर्षे कार्यकालका लागि बज्राचार्यलाई नियुक्त गरिएको उनले जानकारी दिए। बज्राचार्यले यसअघि पनि ग्लोबल आइएमई बैंक, सनराइज बैंक, एनसिसी बैंकको सिइओका रुपमा रही अनुभव संगालेका छन्।
एक महिनाअघि पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएपछि बैंकको सिइओ पद रिक्त रहँदै आएको थियो।
तत्कालीन जनता बैंकको सिइओ रहेका कुँवर नै मर्जपछि ग्लोबल आइएमई बैंकको सिइओ नियुक्त भएका थिए। उनको नियुक्तिपछि सञ्चालक समितिका सदस्यहरुबीच नै विवाद रहँदै आएको थियो।
असार अन्तिम सातातिर कुँवरले आफ्नो स्वास्थ्य स्थिति देखाउँदै राजीनामा दिएका थिए। साउन १ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत भएको थियो।
वाणिज्य बैंकमा सबैभन्दा धेरै चुक्ता पुँजी रहेको यस बैंकले गत आर्थिक वर्ष ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।