आज अन्तरदिनको कारोबारमा नेप्से एकाध समय घट्ने दिशामा देखिए पनि अन्ततः बजार बढेको छ। सुरूवाती क्रममा केही दिन अगाडि लगानी गरेकाहरू प्रोफिट बुकिङमा लागेपछि बजार केही घटेको थियो। तर बजार बन्द हुँदा ५६.०६ अंकले बढेर २,३६९.०६ विन्दुमा पुगेको छ।
चुनावमा गरिएका खर्चहरू अब क्रमशः बैंकिङ प्राणालीमा फर्किने आशामा पनि बजार बढेको हो। बजार न्यून विन्दुमा पुगेसँगै खरिददारी बढ्दै गइरहेको छ।
अघिल्लो दिन जम्मा एक अर्ब ३५ लाख ६६ हजार रूपैयाँ कारोबार भएकोमा आज कारोबार रकम दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रूपैयाँ पुगेको छ। बुधबार जम्मा २२९ किसिमका धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा ५३ लाख ३३ हजार १०९ सेयर किनबेच भएको छ।
मंगलबार २२९ धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा २१५ वटाको सेयर बढेको छ भने जम्मा ७ वटाको मूल्य घटेको हो। कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको सकारात्मक देखिएको छ। आज सबैभन्दा धेरै हाइड्रोपावरको ४.९७ प्रतिशत, फाइनान्सको ४.४५ प्रतिशत र विकास बैंकको ३.७५ प्रतिशतले बढेको हो।
आज नेसनल हाइड्रोपावर, नेपाल फाइनान्स, सिनर्जी पावर विकास, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। गनपत्ती लघुवित्त वित्तीय संस्था र युनिअन हाइड्रोपावरको ९.९९ प्रतिशतले मूल्य बढेको छ।
कारोबार रकमको आधारमा पनि आज सबैभन्दा धेरै अरूण भ्याली हाइड्रोपावरको १० करोड ५९ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ।
यसपछि ङादी ग्रुप पावरको ८ करोड ७३ लाख ४१ हजार रूपैयाँ, राधी विद्युत कम्पनीको ७ करोड ६२ लाख ६७ हजार रूपैयाँ, शिवम् सिमेन्टको ६ करोड ७५ लाख ८८ हजार रूपैयाँ र नेसनल हाइड्रोपावर कम्पनीको ५ करोड ८० लाख ६२ हजार रूपैयाँको कारोबार भएको हो।