बेनी हाइड्रोपावर प्रोजेक्टले चैत १ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रूपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १० करोड ४० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
सोमध्ये ५ लाख २० हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने ३ लाख १२ हजार कित्ता सुलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दा र २ लाख ८ हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रहरूका स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।
साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ५ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा चैत १५ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत १५ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यपिटल रहेको छ।
स्थानीयले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू, एनएमबी बैंकको सल्लेशी शाखा, लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर मेरो सेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।