साना कर्जालाई बढी प्राथमिकता दिदै आएको एनआइसी एशिया बैंकले कर्जा विस्तारलाई थप परिपक्व तरिकाले अगाडी बढाउने भएको छ।
बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । बैंकले २ खर्ब ७४ अर्ब रूपैयाँ बराबरको कर्जा यी क्षेत्रमा लगानी गरेको हो।
साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ । ‘बैंकले साना कर्जामा लक्षित गर्दै व्यवसाय विस्तार गर्दै आएको छ । अब बैंकको कर्जा उत्पादनमुलक क्षेत्रमा बढी केन्द्रित हुने छ । रिटेल सेक्टरमा कर्जा लगानी घटाउँदै लैजानेछौं,’ न्यौपानेले भने ।
बैंकको शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरको संख्या बढेकोले मुलुकभर कर्जा प्रवाह सम्भव भएको र यसले कर्जा लगानी समेत बढेको बैंकको भनाई छ ।
हाल बैंकको शाखा संख्या ३ सय ५९ र एक सय २ एक्सटेन्सन काउन्टर विस्तार भएको छ। बैंकका अनुसार वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका तथा कुनै पनि वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा बैंकको शाखा विस्तार भएको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन सफल भएको बैंकको दाबी छ । बैंकको ग्राहक संख्या ३० लाख पुगीसकेको छ । यो समग्र बैंकिङ्ग क्षेत्रको औसत ग्राहक संख्याभन्दा १७ लाख ५२ हजारले बढी हो ।
बैंकले ८१ वटा शाखा रहित बैंकिङ सेवा पनि दिइरहेको छ। सबैको बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि नारा रहेको बैंक ग्राहकहरूको पहिलो रोजाइको बैंक बन्ने लक्ष्यमा छ।