सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रूपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रूपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेय निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशत अर्थात् ४ करोड २९ लाख रूपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ।
बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत २३ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी बी इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।