ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ।
बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरे।
नेपालमै पहिलो पटक सुरू गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरूलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ।
बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरूलाई सम्पूर्ण बैंकिङ सेवाहरू जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरू प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ।
विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरुलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने बताइएको छ।
विभिन्न देशमा रहेका नेपालीहरूको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ।
बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरूलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ।
सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
बैंकले विगत दुई दशकमा विश्वव्यापी रूपमा रेमिटेन्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरुको विकास तथा विभिन्न १० देशभन्दा बढी देशमा रहेका बैंकका कर्मचारीहरुमार्फत् बैंकिङ सेवाहरू प्राथमिकतामा प्रदान गर्दै आएको छ।
बैंकले आफूलाई अग्रणी रेमिटेन्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दोे बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
यस विभागको कार्यालय ग्लोबल आइएमई बैंकको काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने छ।
साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभाग मा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइबरको माध्यमबाट सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन्।
बैंकले ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।