गत साता ७५ अंकले घटेको नेप्से वियरिश प्रवृत्तिमा प्रवेश गर्न लागेको संकेत प्राविधिक विश्लेषणहरूले गरिरहेका छन्।
केही लामो अवधिको प्रवृत्ति आंकलन गर्ने मुभिङ एभरेजले यस्तो देखाइरहेको छ भने छोटो अवधिको प्रवृत्ति हेर्न प्रयोग गरिएको मैनवत्ति चित्र विश्लेषण र पीभटले बजार केही समय थप घट्न सक्ने सम्भावना देखाइरहेको छ।
साता दिनमा नेप्से ७५.६७ प्रतिशतले घटेर २ हजार ३७ बिन्दुमा आइपुगेको छ। साताको अन्तिम दिनहरूमा कारोबार रकम थप घट्दै गइरहेकोले पनि बजारमा धेरै लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन्।
सातामा कुल कारोबार ४७ प्रतिशतले घटेको छ। गत साता २२ अर्ब ९९ करोड रूपैयाँको कारोबार भएकोमा यस साता १२ अर्ब चार करोडको कारोबार भएको छ।
गत साता ६ दिन कारोबार भएको बजारमा यस साता भने पाँच दिन मात्रै सेयर कारोबार भएको छ। दैनिक औसत कारोबार भने तीन अर्ब ८३ करोडबाट ३७ प्रतिशतले घटेर दुई अर्ब ४० करोड रूपैयाँमा सीमित भएको छ।
मौद्रिक नीति सार्वजनिक हुनुभन्दा केही दिनअघिदेखि बढ्न थालेको सेयर बजार त्यसपछि क्रमिक रूपमा बढिरहेको थियो।
मौद्रिक नीतिले सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमामा केही सहजिकरण गरिदिएको कारण बजारमा सकारात्मक सञ्चार भइरहेको थियो।
तर, त्यसबाहेक अन्य सुधारहरू बजारमा नदेखिएकोले लगानीकर्ताहरू निराश देखिएका हुन्। पछिल्लो समय पनि बैंक तथा वित्तीय संस्थाहरूले सहज रूपमा कर्जा विस्तार गर्न नसकिरहेको र सरकारी खर्च नबढ्दा ढुकुटीमा पैसा थन्किएपछि पनि तरलतामा अपेक्षित सुधार देखिएको छैन।
यसैबीच सेयर ब्रोकर थप्ने प्रक्रिया अगाडी बढेको, मर्जरको समयमा कारोबार १५ दिनलाई मात्रै रोक्ने प्रस्ताव धितोपत्र बोर्डबाट भइरहेकोले पनि बजारमा केही सकारात्मक प्रभाव पर्न सक्छ।
तर, यी विषय प्रक्रियामै चरणमा रहेकोले अझै केही समय लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन्।
अहिले चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक भएसँगै कम्पनीहरूको लाभांशको अनुमान भइरहेकोले पनि बजार ठूलो अन्तरले घट्ने अवस्था देखिदैन।
केही समय सेयर होल्ड गर्नेले संस्थाहरूले प्रस्ताव गर्ने लाभांश प्राप्त गर्ने अवस्था बन्ने भएकोले बजार धेरै तल जाने अवस्था भने नआउने देखिन्छ। यद्यपी वृद्धिको लागि पनि अहिले विकसित भइरहेको घटनाक्रम नै पर्याप्त भने देखिएको छैन।
वियरिश प्रवृत्तिको संकेत:
नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार वियरिश (घट्दो) प्रवृत्तिमा प्रवेश गर्न लागेको जस्तो देखिएको छ।
२१ दिने मुभिङ एभरेज रेखाले ७ दिने रेखालाई काटेर माथि लाग्ने प्रयास गरेको छ। ७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि लाग्ने प्रयास गरेमा भने बुलिश (बढ्ने) प्रवृत्ति शुरु हुने मानिन्छ । बजार वियरिश प्रवृत्तिमै पुगेको निक्र्योल गर्न अझै केही दिन कुर्नुपर्ने देखिन्छ।
नेप्सेको मैनवत्ति चित्रमा दोस्रो दिनदेखि लगातार कालो (रातो) मैनवत्ति चित्र बनेको छ। बुधवार दुवै तर्फको लामो धागो भएको सानो शरीर सहितको रातो मैनवत्ति बनेको छ।
यसले बजार बुलिश र वियरिश प्रवृत्तिमा रहेको भन्ने दुवै थरिका लगानीकर्ताहरू बलियो पोजिशनमा रहेको संकेत गर्छ।
यद्यपी अन्तिम दिन माथिल्लो धागो सहितको रातो मैनवत्ति बनेको छ। यसले बुलिश प्रवृत्तिमा बजार रहेको मान्ने लगानीकर्ताहरू कमजोर भइरहेको देखिएको छ।
तर बजारमा खरिददारी समेत बढिरहेको संकेत नेप्सेको १४ दिने आरएसआई सूचकले संकेत गरिरहेको छ।
बुधबार ३७ स्केलमा रहेकोमा अहिले ४१ मा आएको छ। यसले विस्तारै खरिददारी बढिरहेको समेत संकेत गर्छ।
आरएसआई सूचक ३० मुनि भएमा बजार अवमूल्यन भएको र ७० माथि भए अधिक मूल्यन भइरहेको र ३० देखि ७० बीचमा रहे सन्तुलित अवस्थामा रहेको विश्लेषण गरिन्छ।
यस साता २१४० मा उच्च बिन्दु बनाएको नेप्सेको पिभट विश्लेषण अनुसार आगामी बजारले २ हजार तीन विन्दुमा पहिलो टेवा पाउने र त्यहाँबाट बजार बढ्न थालेमा भने २ हजार १ सय ६ मा पहिलो प्रतिरोध पाउने देखिन्छ।