बिहीबार नेप्से परिसूचक ९.८३ अंकले घटेको छ।
आज नेप्से ०.५३ प्रतिशतले घटेर १८३८.९६ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २२९ वटा धितोपत्रको ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि दिनहुँ घटिरहेको छ। केही समय अघिसम्म एक करोड माथि रहेको कारोबार रकम आज आएर ६५ करोडमा सीमित भएको छ।
सेयर मूल्य निकै सस्तो भइसकेकाले अत्यावश्यक अवस्थामा बाहेक बिक्रीकर्ताले खासै सेयर बिक्री गरेका छैनन् क्रेताहरू भने अझै सस्तोमा पाइन्छ कि भनेर पर्खेर बसिरहेका छन्।
सोही कारण कारोबार रकम दैनिक घटिरहेको छ। साथै, चाडपर्व नजिकिएकाले पनि कारोबार रकमलाई शिथिल बनाएको देखिन्छ।
बिहीबार सामलिङ पावरको सेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ १० पैसा कायम भएको छ।
त्यस्तै, लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य ४.४२ प्रतिशतले बढेको छ। उक्त फण्ड इकाई मूल्य ८ रुपैयाँ ४ पैसा पुगेको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा १०% प्रभु बैंक डिवेञ्चर २०८४ रहेको छ। सो डिवेञ्चरको मूल्य ९.९३ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ९०८ रुपैयाँमा झरेको छ।
त्यस्तै, गरिमा डिवेञ्चर २०८५ को मूल्य ९.९० प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ९०१ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। कम्पनीको २ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०.४१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७५९ रुपैयाँ कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा बोटलर्स नेपाल तराई रहेको छ। उक्त कम्पनीको १२ हजार २७६ रुपैयाँ ७० पैसामा २ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत र दोस्रोमा लघुवित्त समूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ।