नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ।
यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ अवार्ड प्राप्त गर्न सफल भएको हो।
अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ २०२१ जितेको थियो।
नबिलले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएको कारण आएएफसी र एसएमईद्वारा सम्मान प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ।
विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमई फाइनान्स फोरमले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आएको छ।
तीन दिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकका तर्फबाट सहभागी भएका बैंकका एसएमई एन्ड एमएफका प्रमुख नीरजकुमार बस्नेत (दनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिंगो राष्ट्रका लागि गौरवको क्षण भएको बताए।
देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उनको भनाइ छ।
'अन्तर्राष्ट्रिय सहभागीहरूबाट सिकेका कुराहरू र सफलताका कथाहरूले हामीलाई आगामी दिनमा अवसरहरू सिर्जना गर्न बाटो देखाएको छ,' उनले भने।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एसएमईका लागि लगानी कोष बढाउँदै जाने बताए।
उनले भने, 'एसएमईका लागि लगानी कोष बढाउँदै जाने र अहिले एसएमई क्षेत्रले भोगिरहेको तरलता संकटको समस्यालाई पहिचान गरी त्यसमा काम गर्नु नै नबिल बैंकको प्रमुख प्राथमिकता हो।'
नवौं ग्लोबल फाइनान्स फोरम असोज ३ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१) सम्म कम्बोडियाको नोप पेन्हमा आयोजना भएको थियो। यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो। विश्व अर्थतन्त्रको मेरूदण्ड एमएसएमईएस तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवर्द्धन, आपूर्ति शृंखला, दक्षता, डेटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवर्द्धन गर्न सकिन्छ भनेर खोजी गरेको थियो।
कार्यक्रममा एसएमईको हरित वित्त क्षेत्रको प्रवर्द्धनमा आफ्नो दृष्टिकोण, विचारधार, अन्तरदृष्टि र अनुभवहरू प्रस्तुत गर्न विश्वव्यापी विचारधारा भएका नेताहरू, जलवायु वित्त अधिवक्ताहरू, प्रमुख विशेषज्ञहरू अभ्यासकर्ताहरूलाई निमन्त्रणा गरिएको थियो।
यो अवार्ड असाधारण उपलब्धि हासिल गर्न सफल वित्तीय संस्थाहरू र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उत्पादन तथा सेवा दिने कम्पनीलाई प्रदान गरिँदै आएको छ।
त्यस्तै एसएमई फाइनान्स फोरमका सिइयो म्याथ्यू गम्सरले हरित एसएमई वित्तीय क्षेत्रमा पाचौं अवार्ड विस्तार गरेको जानकारी दिए।
'हामीले हरित वित्तीय लगानीको क्षेत्रमा पाँचौं अवार्ड पनि विस्तार गरेका छौं। त्यसकारण पनि यस वर्ष ठूलो संख्यामा आवेदन परेको हुनसक्छ। हामीसँग पहिलेभन्दा धेरै वित्तीय उत्पादन र दृष्टिकोण भएका देशहरू छन्। यस अवार्डमा लगभग १०० निर्णायक मण्डलले निष्पक्ष निर्णय गरेका थिए।'
नबिल बैंकले देशभर २३३ शाखा र २६९ एटिएममार्फत सेवा प्रदान गरिरहेको छ।