वाणिज्य बैंकहरूले माघ महिनाको लागि ब्याजदर थप घटाएका छन्।
बैंकमा निक्षेप बढ्ने तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ।
लगानी योग्य रकम बढ्दै गएको अवस्थामा प्रत्येक महिना बैंकहरूले ब्याजदर घटाउन थालेका छन्। माघ महिनाका लागि पनि अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएको सूचना निकालेका छन्।
पुस महिनामा बैंकहरूले दिएको निक्षेपको अधिकतम ब्याजदरको तुलनामा माघ महिनामा दिएको अधिकतम ब्याजदरमा औसत ०.८२ प्रतिशतले कमी आएको छ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा बैंकहरूले १.९ प्रतिशतदेखि न्यूनतम ०.२ प्रतिशतसम्म ब्याजदर घटाएका छन्।
माघ महिनामा एनएमबी बैंक र एभरेष्ट बैंकले अधिकतम ब्याजदर पुस महिनाको यथावत राखेका छन्।
एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत यथावत राख्दै अन्य ब्याजदर प्रकाशित गरेको छ।
एनएमबी बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पुस महिनाकै ९ प्रतिशतलाई कायम राखेको छ।
माघ महिनाको लागि सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले दिएको छ। यो बैंकको अधिकतम ब्याजदर पुस महिनाको तुलनामा १.७५ प्रतिशतले घटाएको छ। जसअनुसार माघ महिनाको लागि ७.२६ प्रतिशत कायम गरिएको छ।
एभरेष्ट बैंक, नेपाल बैंक, लक्ष्मी सनराज बैंक र माछापुच्छ्रे बैंकले निक्षेपमा अधिकतम ब्याजदर ८ प्रतिशत दिएका छन्। यी चार बैंकमध्ये एभरेष्टको अघिल्लो महिनाकै ब्याजदर हो। अन्य बैंकको क्रमशः पुस महिनामा ८.५५, ९ र ९.६ प्रतिशत ब्याजदर रहेको थियो।
सिटिजन बैंकले पुस महिनामा ९.३५ प्रतिशत अधिकतम ब्याजदर दिएकोमा माघको लागि ९.१५ प्रतिशत तोकेको छ।
नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ९.५ प्रतिशतबाट ८.६ प्रतिशतमा झारेको छ।
सिद्धार्थ बैंकले ९.६ बाट ८.२५, हिमालयन बैंकले ८.६०१ बाट ८.१५, सानीमा बैंकले ९ प्रतिशतबाट ८.१५ प्रतिशतमा ब्याजदर झारेका छन्।
नबिल बैंक र ग्लोबल आइएमई बैंकको पुसको ब्याजदर ८.६ प्रतिशत रहेकोमा माघको लागि ८.१ प्रतिशत तोकिएको छ।
सिद्धार्थ बैंकको ब्याजदर पनि माघ महिनाको लागि ८.१ प्रतिशत तोकिएको छ। यो बैंकको पुस महिनाको मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.२५ प्रतिशत रहेको थियो।
प्राइम बैंकले १.९० प्रतिशतले ब्याजदर घटाएर माघको लागि ८.१० तोकेको छ।
स्टान्डर्ड चार्टड र राष्ट्रिय वाणिज्य बैंकले माघ महिनाको लागि ८.०७ प्रतिशत ब्याजदर तोकेका छन्। यी बैंकले क्रमशः पुस महिनाको तुलनामा ०.४९ र ०.५४ प्रतिशतले ब्याजदर घटाएका हुन्।
एनआइसी बैंक र प्रभु बैंकले ८.०६५ प्रतिशत ब्याजदर तोकेका छन्। यी बैंकले पुस महिनाको तुलनामा क्रमशः ०.६० र ०.९३ प्रतिशतले ब्याजदर घटाएका हुन्।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ।
बैंकहरूमा अधिक तरलता रहेकोले माघको लागि धेरै बैंकले ब्याजदर घटाएको प्रतिक्रिया दिएका छन्। हाल बैंकहरूमा ६ खर्ब ५ अर्ब हाराहारी अधिक तरलता छ।
पछिल्लो समय लगानीकर्ताहरूको आत्मविश्वास घटेको, उपभोग नबढेको कारण बजार मागमा कमी आएको छ। यसले गर्दा बैंकमा कर्जा माग पनि घटेको छ।