वाणिज्य बैंकहरूको दोस्रो त्रैमासमा खराब कर्जामा सुधार नभएसँगै यसको प्रभाव सेयर बजारमा पनि परेको छ।
सेयर बजार परिसूचक नेप्से सोमबार ३१.४९ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २१ सयको मनोवैज्ञानिक विन्दु मुनि आइपुगेको छ। सोमबार बजार बन्द हुँदा नेप्से २०९८ विन्दुमा छ।
अधिकांश वाणिज्य बैंकहरूको खराब कर्जामा सुधार हुन नसकेको कारण प्रावधान रकम बढेको छ र यही कारण नाफा घटेको छ। विकास बैंकहरूमा पनि धेरैको नाफा घटेको छ भने केही नोक्सानमा छन्। सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको हिस्सा ६० प्रतिशत माथि छ।
केही समयदेखि साइडवेज मुभमेन्ट अर्थात् निश्चित विन्दुबिच रहेर तलमाथि हुने क्रममा नेप्से रहेको थियो। यो प्रवृत्ति टुङ्ग्याएर बजार बढ्न बैंकहरूको मूल्यमा सुधार हुनुपर्ने आशंका गरिएको थियो। तर, बैंकहरूकै वित्तीय विवरणमा सुधार नदेखिएपछि यसको प्रभाव नेप्सेमा परेको हो।
यस दिन कारोबार रकममा समेत कमी आएको छ। आइतबार सात अर्बभन्दा धेरैको कारोबार हुँदा सोमबार ६ अर्ब ३६ करोड रूपैयाँको सेयर किनबेच भएको छ।
यस दिन जलविद्युत कम्पनीहरूको समूहमा सबैभन्दा धेरै २.२४ प्रतिशत घटेको छ। केही समय अघिसम्म बजारलाई वृद्धिको दिशामा लगिरहेको यो समूहमा समेत गिरावट आएको हो।
तर, यही समूहका केही कम्पनीमा मूल्य १० प्रतिशतसम्म बढेर सर्किट लागेको छ। अप्पर साँज्ञे, मिड सोलु हाइड्रोको सेयर मूल्य ९.४६ देखि ९.९८ प्रतिशतसम्म बढेको हो। यस दिन व्यापारमूलक बाहेक कारोबारमा आएका अन्य सबै समूह घटेका छन्।
यस दिन तीन सय सात वटा कम्पनीको सेयर कारोबार भएकोमा ५८ वटाको मात्रै मूल्य बढेको छ। २ सय ३२ वटाको मूल्य घटेको छ भने बाँकीको मूल्य घटेको छ।