लगानकर्ताहरूको अपेक्षा विपरीत नेप्से परिसूचकको घट्ने क्रम २ हजार विन्दुमा पनि रोकिएन।
२ हजारको विन्दु लगानीकर्ताहरूको लागि मनोवैज्ञानिक तहको रूपमा रहेको थियो। यो विन्दुमा पुगेर पनि बजारले वृद्धिको बाटो नसमातेपछि लगानीकर्ताहरू आत्तिएका छन्।
लगानीकर्ताहरू आत्तिदा यस दिन बजार २६.८१ अंकले घटेर १९७९.०२ मा बजार बन्द भएको छ।
नेप्से करिब डेढ वर्षदेखि १८ सयको तहसम्म पुगेर फर्किने र २२–२३ सय आसपास पुगेर घट्ने गरिरहेको छ। त्यसैले पनि १९ सय मुनिदेखि १८ सय माथिको तहबाट बजार फेरि बढने सम्भावना देखिन्छ।
नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि घटेको छ।
आइतबारको बजारमा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रूपैयाँको सेयर कारोबार भएको थियो।
बिहीबारको तुलनामा आज कारोबार रकममा १२ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३१७ वटा धितोपत्रको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच भएको हो।
आइतबार ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन बोटलर्स नेपाल (बालाजु)को सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १४ हजार ७५६ रूपैयाँ ७० पैसा कायम भएको छ।
यस्तै, चिरख्वा हाइड्रोपावरको सेयरमूल्य ८.५५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६२२ रूपैयाँ पुगेको छ।
समाज लघुवित्त र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेको छ। उक्त कम्पनीहरूको सेयर मूल्य क्रमशः एक हजार ९५८ रूपैयाँ ७० पैसा र ५६२ रूपैयाँ ५० पैसामा झरेको छ।
यस्तै, सामलिङ पावरको सेयरमूल्य ९.५६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६१५ रूपैयाँ कायम भएको छ।
आइतबार सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५९९ रूपैयाँ ८० पैसामा २५ करोड १८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.०४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जोशी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१९ रूपैयाँ ९० पैसामा ११ करोड ३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक सर्वाधिक २.४२ प्रतिशतले घटेको छ।