कर्जा प्रवाहको विषयमा प्रचलित नियम, अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको बारेमा गहिरो अध्ययन र जानकारी नलिइ कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिई हिरासतमा राखिएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघले आपत्ति जनाएको छ।
धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइदा समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको परिसंघले उल्लेख गरेको छ।
यसले बैंकिङ क्षेत्रका लगानीकर्ता समेत सोचमग्न बनेको परिसंघले बताएको छ।
देशभित्र आफ्नो भविष्य नदेखेर रोजगारी वा शिक्षाका नाममा ठूलो जनशक्ति र धनराशी पलायन भइरहेकोमा यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीमा पनि मनोवैज्ञानिक सन्त्रास फैलिएको परिसंघको भनाइ छ।
कर्जा प्रवाह जस्तो नियमितरूपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सिबिफिनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।