राष्ट्र बैंकले शुक्रबार ल्याएको मौद्रिक नीतिको तेस्रो समीक्षाले कर्जाको माग वृद्धि गर्ने अर्थतन्त्रलाई गति दिन सक्ने आकलनमा सेयर बजारमा समेत वृद्धि देखिएको छ।
यही कारण आइतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ विन्दुमा बन्द भएको छ।
मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्थाले एक वर्ष पूरा भएमा आफ्नो लगानीमा रहेको सेयरको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समेत गरेको थियो। यही व्यवस्थाको कारण सेयर बजारमा बिक्री चाप बढ्ने हो कि भन्ने अनुमानमा समेत लगानीकर्ता रहेका थिए। त्यस विपरीत बजार बढेको हो।
बैंकहरूले सर्वसाधारण सेयरमा धेरै लगानी नगरेको र सबै सेयर समेत बिक्रीमा आउने सम्भावना नरहेको विश्लेषकहरूले बताउन थालेसँगै बजारमा सुधार देखिएको हो।
अहिले बजार न्यून तहमा रहेको समयमा राष्ट्र बैंकले गरेको यो व्यवस्थापछि बैंकहरूले सेयर खरिदारी बढाउन सक्ने अनुमानमा बजार बढेको हो।
आइतबारको बजारमा पाँच अर्ब २५ करोड १० लाख २४ हजार ७८६ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बिहीबार चार अर्ब २३ करोड रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३२३ वटा धितोपत्रको १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर किनबेच भएको हो।
आइतबार २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन सबैको लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यस्तै, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
माण्डु हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८६९ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, पिपुल्स पावरको मूल्य ७.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४९८ रूपैयाँमा झरेको छ।
आइतबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२५ प्रतिशत बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता ८३६ रूपैयाँ ३० पैसामा १४ करोड ८० लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा फर्स्ट माइक्रोफाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६९५ रूपैयाँमा ११ करोड ६८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।