सेयर बजार विश्लेषण
सेयर बजार परिसूचक नेप्से दुई दिन लगातार घटेर २६ सयमुनि आएर बजार बन्द भयो।
बजार घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ। आइतबार ९ अर्ब रूपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब र मंगलबार ५ अर्ब रूपैयाँको कारोबार भएको हो।
यसले लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा रहेको संकेत गरिरहेको छ।
लगातार बढिरहेको बजार किन फेरि घट्न थाल्यो, के यसले गिरावटलाई निरन्तरता दिन्छ भन्ने चासो लगानीकर्ताहरूमा छ।
बजारको घटबढ र यसको प्रवृत्तिलाई प्राविधिक विश्लेषणका विभिन्न माध्यमबाट हेर्न सकिन्छ।
त्यसैमध्येको एक हो, मैनवत्ती चित्र अर्थात् क्यान्डल स्टिक।
बजारको सुरू, उच्च, न्यून र अन्तिम विन्दुको आधारमा यस्तो चित्र बन्छ भने यस्तो चित्रहरूको शृंखलाबाट बजार प्रवृत्तिको विश्लेषण गरिन्छ।
१८ औं शताब्दीमा चामलका व्यापारीले मूल्य अनुमानका लागि यो प्राविधिक विश्लेषण विकास र प्रयोग गरेका थिए।
कतिपयले मैनबत्ती चित्रले बजार तत्काल केही समयका लागि घट्ने देखाएको विश्लेषण गरिरहेका छन्।
यो साता आइतबार बजार बढेर हरियो लामो मैनबत्ती बनेको थियो। यो दिन बजार जुन विन्दुबाट सुरू भयो, त्यहाँबाट बढेर बन्द भयो।
सोमबार बजार जुन विन्दुबाट सुरू भएको थियो, त्यहाँबाट बढ्दै माथिसम्म पुग्यो तर बन्द हुने बेलामा त्यो वृद्धि कायम भएन। अघिल्लो दिनको बन्द विन्दुभन्दा पनि तल ओर्लियो।
यस दिन बजारले लामो धागो भएको र सानो शरीर भएको मैनबत्ती बनाएको थियो। यसलाई 'सुटिङ स्टार' समेत भनिन्छ। यसले बजार घट्न सक्ने संकेत गर्छ। तर यो संकेत दरिलो मानिँदैन।
मंगलबार त बजार सुरू भएको भन्दा तलसम्म ओर्लियो। यस दिन रातो मैनबत्ती चित्र बन्यो। यसले बजार केही दिन थप घट्न सक्ने संकेत गर्यो।

मैनबत्ती चित्रले बजार प्रवृत्तिको छोटो अवधिको विश्लेषण गर्न सहयोग गर्छ।
तर यही विश्लेषणको आधारमा धेरैलाई बुधबार बजार के हुने हो भन्ने चिन्ताले सताएको छ।
सेयर विश्लेषक सुवासचन्द्र ढुंगाना बुधबार बजार घट्न रोकिन सक्ने विश्लेषण गर्छन्।
किन त?
ढुंगानाले भने, ‘नेप्सेले अहिले पनि २६ सय विन्दुबाट धेरै तल ओर्लिन खोजेको छैन। यही टेवा पाएर बढ्ने सम्भावना देखाइरहेको छ।’
नेप्से बुधबार बन्द हुँदा २६ सय माथि रहेमा बजार त्यहाँबाट थप बढ्न सक्ने ढुंगाना बताउँछन्। साथै, कारोबार रकम पनि ५/६ अर्ब रूपैयाँ माथि हुनुपर्ने उनको विश्लेषण छ।
‘यसो भएमा बजारले २७७० विन्दुलाई लक्ष्य बनाएर बढ्नेछ। तर बुधबार बजार घटेमा २४७५ आसपास पुगेर फेरि बढ्नेछ,’ उनले भने।
बजार निश्चित विन्दुको अन्तरमा रहेर तलमाथि गरिरहेकाले बजार घट्दा धेरै नघट्ने र बढ्दा पनि धेरै बढ्ने अवस्था नदेखिने उनको भनाइ छ।
अहिले धेरै कम्पनीको लाभांश घोषणा हुँन बाँकी रहेकाले पनि कम्पनीहरूले कुन दरमा लाभांश प्रस्ताव गर्छन्, त्यसैले बजारको आगामी दिशा तय गर्ने विश्लेषकहरू बताउँछन्।