लगातार पाँच दिन बढेको सेयर बजार बुधबार घट्यो। पाँच दिनमा १६१ अंक जोडेको नेप्सेले बुधबार २४.४५ अंक गुमायो।
बजारले अब कस्तो बाटो समात्ला?
नेप्सेको हालसम्मकै उच्च विन्दु ३१९८ हो। २०७८ साउन २७ गते नेप्सेले बनाएको यो उच्च विन्दु दरिलो प्रतिरोध बन्दै आएको छ। त्यसैले पनि नेप्से यो विन्दु नजिक आउँदा पटक पटक घट्ने गरेको छ।
२०७८ सालयता मात्रै नेप्से अहिलेसम्म पाँच पटक यो विन्दु नजिक आएर ओर्लिएको छ।
त्यसैले पनि अहिले लगानीकर्ता अबको दिन बजारमा के हुन्छ भनेर 'पर्ख र हेर' को अवस्थामा रहेको संकेत गर्छ।
नेप्सेमा मंगलबार र बुधबार मैनबत्ती चित्रमा इनगल्फिङ बियरिस आकृति बनेको छ। यसले केही दिन बजार घट्ने संकेत गर्छ।
यो दरिलो संकेत भने होइन। त्यसैले आगामी दिनको कारोबार हेरेर मात्रै लगानी रणनीति बनाउनु सही हुन्छ।
त्यस्तै, अहिले पनि नेप्सेमा ५० दिने र २०० दिने मुभिङ एभरेजमा यसअघि भएको गोल्डेन क्रस–ओभर कायमै छ।
यी दुई रेखाबीच अहिले पनि दुरी कायम छ। यसले बजार बुलिस प्रवृत्तिमै भएको संकेत गर्छ।
लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लाग्दा बुधबार बजार घटेको एक ब्रोकर बताउँछन्।
'यति दिन बजार बढ्दा लगानीकर्तालाई राम्रो नाफा भएको छ। यस्तोमा नाफा सुरक्षित गर्दा पनि बजार घटेको हो,' ती ब्रोकरले भने।
हालै सूचीकरण भएर मूल्यमा सर्किट ब्रेक लागिरहेका चार कम्पनी अलग्याएर हेर्दा पाँच कारोबार दिनमा लगानीकर्तालाई केही सेयरमा प्रतिकित्ता ६४० रूपैयाँसम्म नाफा छ।
बुधबारसम्म लगानीकर्ताहरूलाई ६३ वटा कम्पनीमा ५ देखि २१ प्रतिशतसम्म नाफा भएको छ। यो नाफा अन्तिम मूल्यको आधारमा हो।
अन्तरदिनको उच्चमा सेयर बिक्री गर्न पाउनेलाई सोभन्दा धेरै नाफा भएको हुन सक्छ। १० प्रतिशतभन्दा धेरैले नाफा भएका कम्पनी १२ वटा छन्।
नयाँ बाहेकका कम्पनीमा सबैभन्दा धेरै नाफा कर्पोरेट डेभलपमेन्ट बैंकमा भएको छ। यसमा लगानीकर्तालाई २०.५७ प्रतिशत नाफा भएको छ।
मूल्यका आधारमा सबभन्दा धेरै नाफा (६४० रूपैयाँ) विशाल बजार कम्पनी (बिबिसी) लाई भएको छ।
नयाँ कम्पनीमा भने यो पाँच दिनमा सेयर मूल्य ४९ देखि ७७ प्रतिशतसम्म मूल्य बढेको छ।
बुधबार नाफा सुरक्षित गर्ने क्रम बढे पनि यस पटक बजारमा फरक परिदृश्य देखिएको दाबी ती ब्रोकरको छ।
'पहिले पहिले दैनिक १५–१६ अर्ब रूपैयाँको कारोबार भएर बजार एक दिन मात्रै घट्दा पनि ब्रोकरले पैसा उठाउन सक्दैन थिए,' उनको दाबी छ, 'तर अहिले त्यस्तो अवस्था छैन। बजारमा लगानी थपिइरहेको छ।'
लगातार पाँच दिनदेखि बजार बढेको भए पनि बजारमा दैनिक १० अर्ब रूपैयाँमाथिको कारोबार हुन थालेको ११ दिन (बजार खुलेको दिन) भइसकेको छ।