सेयर बजार परिसूचकले २०८१ साउन २९ यता चार पटकसम्म ३००० विन्दुमा प्रतिरोध परीक्षण गरेको छ।
अहिले चौथो पटक नेप्सेले ३००० विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको हो।
यो क्रममा नेप्से परिसूचकले 'कप विथ ह्यान्डल' आकृति बनाउँछ कि 'ससर' भन्नेमा लगानीकर्ताहरूको पर्खाइ देखिएको छ।
पहिले बुझौं, सेयर बजारमा यी दुई शब्दले के बुझाउँछन्।
यसअघि २०८१ साउन १३ गते ३००० विन्दु नजिक पुगेको नेप्सेले कप जस्तो आकृति बनाएको छ। यो क्रममा नेप्से २४६९ सम्म पुगेर बिस्तारै फर्कियो। त्यहाँबाट वृद्धि भएर नेप्से केही दिनअघि नेप्से २९६९ विन्दुसम्म पुग्यो। त्यसपछि अहिले २९१८ सम्म ओर्लिएर फेरि सुधार हुने क्रममा छ।
नेप्से केही दिनअघि २९६९ विन्दुमा पुगेपछि सामान्य दरमा घटबढ हुने प्रवृत्तिमा जान सक्ने संकेत देखाइरहेको छ। केही दिन यस्तो प्रवृत्ति देखिएमा ह्यान्डल आकृति पूरा हुन्छ।
यो आकृति एक दुई सातामै पूरा भएमा मात्रै कप विथ ह्यान्डलको पूर्ण आकृति बनेको मानिन्छ।
यदि यस्तो आकृति बनेर बजार बढेमा (ब्रेक आउट भएमा) कप आकार बनाउँदाको गहिराइ जति छ, त्यति नै अंकले बजार बढ्ने विश्लेषण गरिन्छ। कप आकृति बनाउने क्रममा नेप्से ३००० बिन्दुबाट घटेर २४६९ सम्म ओर्लिएको थियो।
यो भने ४५९ अंकको गिरावट हो। ४५९ अंक नेप्सेले कप बनाउँदाको गहिराइ हो।
यसो भएमा बजार ३००० को ब्रेक आउट विन्दुबाट ४५९ अंकले बढ्नेछ। तर सामान्यदरमा घटबढ हुने प्रवृत्ति केही समय लम्बिएमा बजार बुलिस प्रवृत्तिमा जाने सम्भावना पनि अन्योल बन्दै जान्छ।
नेप्से यसरी सामान्यदरमा घटबढ हुने प्रवृत्ति (साइडवेज मुभमेन्ट) बढेर अन्त्य भए बजार थप बढ्छ र घटेर अन्त्य भए बजार थप घट्छ।
तर बजार सूचकहरूले कप विथ ह्यान्डल आकृति पूर्ण नबनाई त्यसअघि नै पनि बढ्न सक्ने सम्भावना रहन्छ।
यसो भएमा नेप्सेमा 'ससर' आकृति बन्छ। यो अंग्रेजी अक्षरको 'यू' आकृति जस्तो देखिन्छ। यसलाई 'राउन्डिङ बटम' समेत भनिन्छ।
यसको पनि ब्रेक आउट विन्दु भनेको त्यो आकृति सुरू हुँदाको उच्च विन्दु नै हो। अर्थात् नेप्सेका लागि ३००० को बिन्दु हो। त्यसैले अहिलेको मुख्य लक्ष्य वा प्रतिरोध भनेकै ३००० को विन्दु हो।


अहिले नयाँ सरकार गठन भइसकेको र अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेपछि सेयर बजारमा पनि आशाको सञ्चार भएको छ।
ब्रोकर प्रियराज रेग्मी भन्छन्, 'इरान र इसराइल द्वन्द्वको प्रभाव पछि बजार वृद्धि बारे लगानीकर्ताहरूको मनको कुनै कुनामा केही आशंका नदेखिएको होइन। तर नयाँ सरकार गठन लगायतले लगानीकर्ताहरूमा सकारात्मक प्रभाव धेरै परेको छ।'
यो द्वन्द्व लम्बिएमा सर्वसाधारणको जीवनमा पर्न सक्ने प्रभावले बजारमा पनि केही न केही असर गर्न सक्छ।
बाहिरी तनाव, मुलुकभित्र पुराना दलका नेता पक्राउ र यसले निम्तिन सक्ने आन्तरिक तनावले केही दिन बजारमा प्रभाव भने पर्न सक्छ।
यसो भएमा बजार केही समय साइडवेज मुभमेन्टमा जान सक्छ। वातावरण सङ्लिँदै जादा बजारमा सुधार देखिन सक्छ।