बालेन सरकार बन्नुअघि सेयर बजारमा लगानीकर्ताहरूको सम्पत्ति ५० खर्ब १८ अर्ब रूपैयाँसम्म पुगेको थियो।
नयाँ दलको सरकार बन्ने भएसँगै बजारले उत्साह देखाइरहेको थियो। त्यो उत्साह लामो समय टिक्न सकेन।
यो बिहीबारसम्म आइपुग्दा लगानीकर्ताहरूको सम्पत्ति ठ्याक्कै ४ खर्ब ३ अर्ब रूपैयाँले क्षय भएको छ।
गत चैत १० गते सेयर बजार पुँजीकरण ५० खर्ब १८ अर्ब रूपैयाँ रहेकामा बिहीबार यो रकम ४६ खर्ब १४ अर्ब रूपैयाँ भएको छ।
सरकार गठन भएदेखि नै व्यवसायी पक्राउको घटनाले त्रसित बजार समय समयमा बौरिन खोजे पनि सकिरहेको छैन।
किन त?
एक ब्रोकर भन्छन्, 'पक्राउ र त्यसपछि कारबाही प्रक्रिया चलिरहेको खबरले लगानीकर्ताहरूको दिमागमा हिट गरिरहेको छ। बेला बेला सुधार हुन खोज्छ तर फेरि नयाँ घटना आएकाले अवस्था सामान्य हुनै सकेको छैन।'
यसबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एकाध पटक बजारमा नराम्रा गरिरहेकाहरू मात्रै डराउनुपर्ने भनेर ढाडस दिन नखोजेका होइनन्। तर सरकारले लगानीकर्ताहरूमा विश्वास जगाउनै सकिरहेको छैन।
बजारमा खराब प्रवृत्ति वा अवैधानिक गतिविधि गरिएकै कारण पक्राउ हुनु नराम्रो होइन भने बजार किन घटिरहेको हो त?
हाम्रो प्रश्नमा ती ब्रोकर भन्छन्, 'बजारमा सबै व्यक्ति खराब छन् वा त्यहीँ कारण डराएका छन् भन्ने होइन। तर यस्ता काम–कारबाहीका घटनाबाट लगानीकर्ताहरू त्यसै त्रसित छन्।'
बजारको नाडी छाम्दा पनि अहिले यस्तै देखिन्छ।
बजारमा सेयर बिक्री गर्ने प्रवृत्ति उच्च छ। नेप्सेको १४ दिने आरएसआई (रिलेटिभ स्ट्रेन्थ) ले बिक्री उच्चले बढेर बजार अत्यधिक तहमा आएको संकेत गरिरहेको छ। विगत १४ दिनमा १० दिन बजार घटेको छ। बिहीबार यो सूचक स्केल १६ मा छ। घट्दै यो तहमा आएको हो।
शून्यदेखि ३० सम्मको स्केलले बजारमा अधिक बिक्री देखाउँछ। ३० देखि ७० सम्म हुँदा किनबेच सन्तुलित र ७० देखि १०० सम्म किन्ने दर आक्रामक रूपमा बढेको संकेत गर्छ।
अहिले बजारमा खरिदभन्दा बिक्रीको दबाब धेरै बलियो भएको र अल्पकालीन रूपमा बजार कमजोर बनेको संकेत गरेको छ।
बजारमा लगानीकर्ताको आत्मविश्वास घट्दै गएको तथा जोखिम लिन चाहने प्रवृत्ति कमजोर देखिन्छ। मूल्य घट्ने क्रमका कारण धेरैजसो लगानीकर्ता बिक्रीतर्फ आकर्षित भएको अवस्था यस सूचकले देखाउँछ।
यद्यपि न्यून विन्दुमा यो सूचक पुग्नुले बजारमा केही समयमा सुधार आउन सक्ने सम्भावना पनि देखिन्छ। तर यही सूचकका आधारमा मात्र बजारको दिशा फेरिएको निष्कर्ष निकाल्न मिल्दैन। बजारमा दिगो सुधार आउन खरिद पक्षको बलियो उपस्थिति, कारोबारमा वृद्धि आवश्यक हुन्छ।
बजारमा सेयर कारोबार हुँदा बेच्ने मात्रै हुँदैनन्, त्यस्तो सेयर कसै न कसैले किनिरहेको पनि हुन्छ।
तर अहिले बजारमा नयाँ पैसा प्रवेश गरिरहेको छ त?
बजारको मनी–फ्लो सूचक अहिले ३१ छ। यसले बजारबाट पैसा झिक्ने प्रवृत्ति नै धेरै भइरहेको देखाइरहेको छ।
त्यस्तै, डिस्ट्रिब्युसन (बिक्री) धैरै भइरहेको देखिन्छ। लगातार पछिल्ला ६ दिन एकुमुलेसन र डिस्ट्रिब्युसन मान नकारात्मक छ। विगत २४ दिनमा ८१ लाखले सकारात्मक भए पनि यो घट्दो क्रममा छ।
यसले एकातर्फ अत्यधिक बिक्रीको संकेत देखिएको छ। अर्कोतर्फ, नयाँ पैसा प्रवेश कमजोर देखिएकाले बजार सुधारको प्रयासले निरन्तरता पाउन सकिरहेको छैन।
ब्रोकरहरू भने अब बजार थप घट्ने अवस्था नरहेको बताउँछन्।
'अहिलेको बजारमा धेरै नयाँ कम्पनी थपिएका छन्। यसले गर्दा नेप्से यो बिन्दुमा अडिएको देखिएको हो। वास्तवमा धेरै कम्पनीको सेयर मूल्य न्यून विन्दु नजिक आइसकेकाले अब धेरै घट्ने अवस्था छैन,' एक ब्रोकरले भने।
पछिल्लो समय ८० वटाभन्दा बढी कम्पनीहरूको सेयर मूल्य न्यून विन्दुमा छ। अहिले लगानीकर्ताहरू मौद्रिक नीतिको पर्खाइमा रहेकाले पनि बजारले स्पष्ट प्रवृत्ति देखाउन नसकिरहेको उनको भनाइ छ।
'मौद्रिक नीतिमा सूचीकृत बैंक तथा वित्तीय संस्थाको सम्बन्धमा सकारात्मक कुरा आएमा बजार सुधार हुन सक्छ,' उनले भने।