लामो समयदेखि २७०० मा टेवा पाइरहेको नेप्से परिसूचक मंगलबार सो तहबाट तल आएको छ।
मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४ विन्दुमा आएको हो।
यसरी बजार घट्दा पनि २७४ कम्पनीमध्ये २५ वटाको सेयर मूल्य बढेर कारोबार भयो।
यी मध्ये पनि सबभन्दा धेरैले मूल्य बढ्ने चार कम्पनीमा दुई वटा हालै कारोबारमा आएका नयाँ कम्पनी छन् भने दुई वटा पुराना कम्पनी हुन्।
हालै कारोबारमा आएका कम्पनीहरूको मूल्य एकोहोरो बढ्ने प्रवृत्ति रहेकाले आज हामीले ती बाहेकका पुराना कम्पनीको चर्चा गरेका छौं।
यसरी मंगलबार मूल्य बढ्नेमा छन्— कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्स।
यी दुवैको मूल्य एक प्रतिशतभन्दा धेरैले बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक
यसको सेयर मंगलबार करिब १८ रूपैयाँले बढेर १७३४ रूपैयाँमा कारोबार भइरहेको छ।
२०८२ माघ २० यसको सेयर प्रतिकित्ता २८४२ रूपैयाँसम्म कारोबार भइरहेको थियो। यसले आर्थिक वर्ष २०७८–७९ मा पाँच प्रतिशत बोनस सेयर दिएको थियो। त्यसयता प्रतिफल दिन सकेको छैन।
२०७८ सालमा भने १५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। २०७० सालमा यो राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाहीमा परेको थियो। पछि समस्याग्रस्त कम्पनीमा परिणत भए पनि २०७४ सालमा यो समस्याग्रस्तबाट फुकुवा भएको थियो।
यससँगै हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्दै यसलाई लयमा ल्याउने प्रयास भएको थियो।
वर्ष २०८१–८२ मा नोक्सानमा देखिएको कर्पोरेट २०८२–८३ को पहिलो त्रैमासदेखि नाफामा देखिएको छ।
अहिले कम्पनीको वित्तीय स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ। चैतसम्म नाफा एक करोड ७७ लाख रूपैयाँबाट बढेर चार करोड ८२ लाख रूपैयाँ पुगेको छ। यसअघि प्रावधानमा राखेको ६ करोड रूपैयाँ फिर्ता ल्याएपछि (राइट ब्याक गरेपछि) नाफा बढेको हो। कर्जाको गुणस्तर सुधार हुँदै जाँदा बैंकहरूले यसरी राइट ब्याक गर्छन्।
यसको खराब कर्जा पनि १३ प्रतिशतबाट घटेर ६ प्रतिशतमा भएको छ। यसको सञ्चित नोक्सानी अझै पाँच करोड रूपैयाँ छ। नाफामा सुधार हुँदै गइरहेकाले आगामी समय यसमा सुधार हुँदै जान सक्छ। तर यसको सेयर मूल्य अहिले पनि उच्च छ।
सर्वसाधारणमा यसको जम्मा १५ लाख ७५ हजार कित्ता सेयर छ। सेयर आपूर्ति नै कम भएकाले यसको मूल्य उच्च देखिएको हो। यसको चैतसम्म वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १२ रूपैयाँ २६ पैसा छ। प्रतिसेयर नेटवर्थ १४० रूपैयाँ र मूल्य आम्दानी अनुपात १४८ गुणा छ।
सेयर आपूर्ति नै कम भएकाले यसको प्राविधिक विश्लेषणको थोरै महत्त्व देखिँदैन। त्यसैले हामीले यसको प्राविधिक विश्लेषण गरेका छैनौं।
रिलायन्स फाइनान्स
२०७१ सालमा रिलायन्स फाइनान्स र लोटस इन्भेस्टमेन्ट फाइनान्स मर्जर भएर यो रिलायन्स लोटस फाइनान्स बनेको थियो। पछि फेरि यसको नाम परिवर्तन गरिएको हो।
मंगलबार रिलायन्स फाइनान्सको सेयर सात रूपैयाँले बढेर ४८७ रूपैयाँमा कारोबार भइरहेको छ।
केही वर्ष अघि (२०७८ साउनमा) यसको सेयर मूल्य ८१४ रूपैयाँसम्म पुगेको थियो।
पछिल्लो समयदेखि यसको सेयर ४०० देखि ५०० रूपैयाँको अन्तरमा रहेर कारोबार भइरहेको छ।
यसले पनि आर्थिक वर्ष २०७९–८० देखि लगानीकर्तालाई कुनै प्रतिफल दिएको छैन।
गत चैतसम्म यसले मात्रै ३ करोड ७९ लाख रूपैयाँ नाफा कमाएको छ। यसअघि यो १७ करोड ४७ लाख रूपैयाँ नोक्सानमा थियो।
खुद ब्याज आम्दानी ६७ प्रतिशतले बढेर २२ करोड ३३ लाख रूपैयाँ पुगेको छ। यसको २४ करोड २० लाख रूपैयाँ अझै सञ्चित नोक्सानी छ।
यसको खराब कर्जा घटे पनि अझै उच्च छ। यसअघि यो १६ प्रतिशत रहेकामा १० प्रतिशतमा सीमित भएको हो।
यसको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ४ रूपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रूपैयाँ छ।
सर्वसाधारणमा यसको जम्मा ५४ लाख ९५ हजार कित्ता सेयर छ। यसको पनि सेयर आपूर्ति नै कम भएकाले एउटा तहमा कायम भइरहेको छ।