केही वर्ष अघिसम्म कम्पनीहरूले बोनस सेयर दिने र हकप्रद सेयर जारी गर्ने थाहा पाएपछि सो कम्पनीको सेयर मूल्य उच्चले बढ्न थाल्थ्यो।
तर यो कारणले कम्पनीहरूको चुक्ता बढ्ने र त्यो अनुपातमा लाभांश क्षमता नबढ्ने हो भने यस्तो पुँजी वृद्धि भार मात्रै हुने लगानीकर्ताहरूले बुझ्न थाले।
यसले पहिले जस्तो यही कारणले मात्रै सेयरमा आकर्षण बढ्ने प्रवृत्ति कम भएको छ।
अहिले पनि केही कम्पनीहरू हकप्रद सेयर जारी गर्ने तयारीमा छन्। आज हामीले यस्तै दुई कम्पनीको चर्चा गरेका छौं।
अभियान लघुवित्त वित्तीय संस्था
यही मंगलबार मात्रै अभियानको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको छ। असार ३० गते डाकिएको साधारण सभामा एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव लगिँदैछ।
यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र सभाबाट पारित हुन बाँकी छ। यो प्रस्ताव पारित भएमा अभियानको एक कित्ता सेयर हुने लगानीकर्ताले एक कित्ता सेयरमा लगानी गर्न पाउने छन्।
लगानीकर्ताले प्रतिकित्ता एक सय रूपैयाँको दरमा सेयर हाल्न पाउँछन्। अहिले बजारमा यसको सेयर १०५५ रूपैयाँमा कारोबार भइरहेको छ।
सामान्यतया नेप्सेले यस्तो हकप्रदको अनुपातकै दरमा अर्थात् बजार मूल्यमा समायोजन गर्छ। यस आधारमा अहिलेकै मूल्य कायम रहेमा यस्तो हकप्रद समायोजनपछिको मूल्य ५७७ रूपैयाँसम्म हुनेछ।
अर्थात् हकप्रद जारीपछि मूल्य यो दरभन्दा माथि रहेमा लगानीकर्तालाई लाभ हुन्छ भने सोभन्दा कम भए नोक्सान हुनेछ। हकप्रद जारीका लागि अनुमति प्रक्रिया नै बाँकी रहेकाले यसमा केही समय लाग्न भने सक्छ।
अब संक्षेपमा हेरौं, कस्तो छ अभियान लघुवित्त?
यो चैतसम्ममा यसको नाफा चार गुणाले बढेको छ। नाफा दुई करोड २५ लाख रूपैयाँबाट बढेर नौ करोड ८४ लाख रूपैयाँ पुगेको छ।
व्यवसायको मुख्य आधार खुद ब्याज आम्दानी नै दुई गुणाले बढेर २२ करोड पुगेको छ। ९४ लाख रूपैयाँ प्रावधान रकमबाट फिर्ता (राइट ब्याक) ल्याएकोले नाफा रकम थप केही बढेको छ।
चैतसम्ममा यसको वार्षिकीकरण गरिएको लाभांश क्षमता दर १० प्रतिशत छ। दुई वर्षअघिदेखि बजारमा सेयर कारोबार भइरहेको यसले अहिलेसम्म भने कुनै वर्ष लाभांश दिएको देखिँदैन।
यसको प्रतिसेयर आम्दानी भने राम्रो छ। यो ५२ रूपैयाँ छ। प्रतिसेयर नेटवर्थ एक सय ५७ रूपैयाँ छ भने लगानीकर्ताले यसले कमाएको एक रूपैयाँलाई २२ गुणासम्म हालिरहेका छन्। जुन मध्यम नै हो।
अभियानको खराब कर्जामा सुधार देखिँदैछ। यो ६.८४ प्रतिशतबाट घटेर ५.१४ प्रतिशतमा झरेको छ।
केही महिनाअघि मात्रै यसको मूल्य १३६५ रूपैयाँसम्म पुगेको थियो। यो बीचमा ९९७ रूपैयाँसम्म पुगेर मूल्य फर्किन लागेको छ। सामान्य बढ्दो क्रममा नै रहेपनि बुधबार दुवैतर्फ धागो भएको दोजी आकृति बनेकाले मूल्यलाई लिएर लगानीकर्ता अन्योलमै छन्।
बुधबार नै हकप्रदको खबर सार्वजनिक भए पनि यस दिन मूल्य स्थिर नै रहेको हो। हकप्रदको खबर सार्वजनिक पछि पनि तत्काल भने खरिददारी बढ्न नसकेको एकुमुलेसन र डिस्ट्रिब्युसन सूचकले देखाउँछ।
बुधबार यो मान ११९१ ले ऋणात्मक छ। विगत २० दिनको यस्तो मान पनि ३४२० ले ऋणात्मक नै छ।
युनिभर्सल पावर
त्यस्तै, तीन महिनाअघि युनिभर्सल पावरले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ।
यद्यपि यसले धितोपत्र बोर्डमा हकप्रद जारीका लागि अनुमति मागेको छैन। यो प्रस्ताव यसको साधारण सभाबाट पारित भइसकेको छ।
लगानीकर्ताले प्रतिकित्ता एक सय रूपैयाँको दरमा सेयर हाल्न पाउँछन्। अहिले बजारमा यसको ३५२ रूपैयाँमा सेयर कारोबार भइरहेको छ। अहिलेकै मूल्य कायम रहेमा यस्तो हकप्रद समायोजनपछिको मूल्य २२६ रूपैयाँसम्म हुनेछ।
हकप्रद जारीपछि मूल्य यो दरभन्दा माथि रहेमा लगानीकर्तालाई लाभ हुन्छ भने सोभन्दा कम भए नोक्सान हुनेछ। हकप्रद जारीका लागि अनुमति प्रक्रिया नै बाँकी रहेकाले यसमा केही समय लाग्न भने सक्छ।
यसले हकप्रदबाट उठ्ने पुँजी दीर्घकालीन ऋण चुक्ता गर्न र ४०.७ मेगावाटको माथिल्लो छुजुङ खोला जलविद्युतमा लगानी गर्न समेत प्रयोग गरिने उल्लेख गरेको छ।
यो चैतसम्ममा यसको नाफा दुई करोड ८० लाख रूपैयाँबाट घटेर दुई करोड ५ लाख रूपैयाँ भएको छ।
व्यवसायको मुख्य आधार विद्युत बिक्रीबाट हुने आम्दानी २१ करोडबाट घटेर १७ करोड भएकाले पनि नाफा घटेको हो।
यसको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा २०८२ साउनको बाढीले क्षति पुग्दा उत्पादन अवरूद्ध भएको थियो। यही कारण पनि आम्दानी घटेको हो। केही युनिटमा समस्या आएकाले समेत यो गत चैतसम्म बन्द थियो। अहिले भने आयोजना सञ्चालनमा आइसकेको छ।
यसले विद्युत प्राधिकरणबाट एक करोड ९७ लाख रूपैयाँ पाउन समेत बाँकी रहेकाले पनि नाफामा प्रभाव परेको उल्लेख गरेको छ।
युनिभर्सलले लगानी गरेको ५ मेगावाटको रूकुमगढ जलविद्युत आयोजनामा समेत सञ्चालनमा आएको छ। यसले लगानी गरेको २४.२२ मेगावाटको इञ्खु खोला जलविद्युत आयोजनाको विद्युत बिक्री सम्झौताको प्रक्रियामा छ।
यसले विगत दुई वर्षमा औसत ९ प्रतिशतको दरमा लाभांश दिएको छ। यसको प्रतिसेयर आम्दानी एक रूपैयाँ मात्रै छ।
प्रतिसेयर नेटवर्थ ११४ रूपैयाँ छ भने लगानीकर्ताले यसले कमाएको एक रूपैयाँलाई ३५६ गुणासम्म हालिरहेका छन्।
अहिले आम्दानी प्रभावित भएकाले पनि यो धेरै देखिएको हुनसक्छ।
एक वर्षअघि यसको मूल्य ४८० रूपैयाँसम्म पुगेको थियो। अहिलेको यो मूल्य (३५२ रूपैयाँ) एक वर्षयताकै न्यून आसपासको हो। दुई वर्षअघि भने यसको मूल्य १७८ रूपैयाँसम्म झरेको थियो। ६३५ रूपैयाँको उचाइ बनाएपछि त्यो न्यून मूल्यमा आएको थियो।
कारोबार सुरू हुँदा निकै तलबाट सुरू भएर बढ्ने प्रयासमा देखिँदै आए पनि मूल्य बढ्न सकेको छैन। बुधबार पनि अघिल्लो दिनको बन्द मूल्य आसपासमै रह्यो। मंगलबारको तुलनामा बुधबार मूल्य १० पैसाले बढेको हो।
एकुमुलेसन र डिस्ट्रिब्युसन सूचकले बुधबार बजारमा पैसाको 'फ्लो' बढेको देखाउँछ। बुधबार यो मान १५ हजार ६७ ले सकारात्मक छ। विगत २० दिनको यस्तो मान पनि ३६ हजार ९० ले सकारात्मक नै छ।