नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले एउटै दिन सेयर किनेर सोही दिन बेच्न सक्ने गरी अन्तरदिवसीय कारोबारको खाका प्रस्ताव गरेको छ।
बोर्डले सार्वजनिक गरेको 'नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३' मा यस्तो कारोबार सञ्चालनको खाका प्रस्तुत गरिएको हो।
प्रस्ताव कार्यान्वयनमा आए लगानीकर्ताले सेयर किनेपछि लामो समयसम्म राखिरहनुपर्ने छैन।
मानौं, कुनै लगानीकर्ताले बिहान कुनै कम्पनीको १ सय कित्ता सेयर अन्तरदिवसीय कारोबारका लागि खरिद गर्यो। वा उसँग कुनै सेयर पहिले नै छ भने उसले सोही दिन १ सय कित्ता बिक्री गर्न सक्नेछ।
खरिद मूल्यभन्दा बढीमा बिक्री भएमा मूल्यको अन्तरबाट नाफा हुन्छ भने कम मूल्यमा बिक्री भएमा घाटा हुन्छ।
त्यस्तै, पहिले कुनै कम्पनीको सेयर बिक्री गरेर पछि सोही दिन कम मूल्यमा किनेर पनि हिसाब मिलाउन सक्छ।
यस्तो कारोबारको लागि लगानीकर्ताले सेयर बिक्रीको लागि पहिले सापटी लिनसक्छ। यस्तो सुविधा सेक्युरिटिज लेण्डिङ एण्ड बरोइङ सिस्टमले दिन्छ।
तर, धितोपत्र बोर्डले भने नेपालमा अहिले त्यस्तो उधारो कारोबार प्रचलनमा ल्याउन नहुने उल्लेख गरेको छ। कालान्तरमा यस्तो सुविधा भने हुन सक्नेछ।
लगानीकर्ताले अन्तरदिवसीय कारोबारका लागि तोकिएको सेयर छनोट गरी ब्रोकरमार्फत खरिद वा बिक्रीको आदेश दिन्छन्।
कारोबार गर्नुअघि आवश्यक रकम वा सुरक्षण रकम खातामा राख्नुपर्नेछ।
ब्रोकरले लगानीकर्ताबाट प्राप्त आदेशलाई कारोबार प्रणालीमा पठाउनेछ।
लगानीकर्ताको खातामा आवश्यक रकम वा सुरक्षण रकम भए–नभएको जाँच गर्नेछ र कारोबारको जोखिम व्यवस्थापन गर्ने जिम्मेवारी पनि ब्रोकरको हुनेछ।
लगानीकर्ताले तोकिएको समयभित्र कारोबार सम्पन्न नगरेमा ब्रोकर वा सम्बन्धित प्रणालीबाट त्यस्तो कारोबार बन्द गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
नेप्सेको प्रणालीले कसरी मिलाउँछ?
कारोबार प्रणालीले खरिद र बिक्री आदेश मिलाउनेछ। प्रस्तावित व्यवस्थामा मूल्यलाई प्राथमिकता दिइने र एउटै मूल्यमा आएका आदेशमध्ये पहिले आएको आदेशलाई पहिले मिलाउने व्यवस्था हुनेछ।
बजार आदेश, तोकिएको मूल्यमा मात्र कारोबार हुने आदेश तथा घाटा निश्चित सीमाभन्दा बढी हुन नदिने 'स्टप लस' जस्ता आदेशको समेत व्यवस्था प्रस्ताव गरिएको छ।
अन्तरदिवसीय कारोबारका लागि बजार खुल्नुअघि आदेश संकलन गर्ने, नियमित कारोबार सञ्चालन गर्ने र कारोबार बन्द गर्नेसहित छुट्टाछुट्टै चरण रहने प्रस्ताव गरिएको छ।
सबै सेयरमा उपलब्ध हुनेछैन यस्तो कारोबार सुविधा
सुरुवातमै बजारका सबै सेयरमा अन्तरदिवसीय कारोबार खुला नहुने प्रस्ताव छ।
पर्याप्त कारोबार हुने, तरलता राम्रो भएका र नियमित रूपमा किनबेच हुने कम्पनीका सेयरलाई छनोट गर्ने प्रस्ताव गरिएको छ।
यसका लागि कारोबार रकम, कारोबार संख्या, कारोबार हुने सेयरको मात्रा, बजार पुँजीकरण र सेयर मूल्यमा हुने उतारचढावलगायतका आधार हेरिनेछन्।
अन्तरदिवसीय कारोबारको मुख्य विशेषता नै सोही दिन कारोबार सम्पन्न गर्नु हो। लगानीकर्ताले आफैं कारोबार सम्पन्न नगरेमा तोकिएको समयपछि प्रणाली वा ब्रोकरमार्फत त्यस्तो कारोबार आदेश स्वतः रद्द गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यसको अर्थ अन्तरदिवसीय कारोबारका नाममा खरिद गरेको सेयरलाई अर्को दिनसम्म कारोबारको लागि खुला राख्न पाइने छैन।
धितोपत्र बोर्डले यस्तो कारोबारका लागि कानुनी व्यवस्था, कारोबार प्रणाली, जोखिम व्यवस्थापन, राफसाफ तथा बजार निगरानी प्रणालीमा थप तयारी आवश्यक रहेको जनाएको छ।
जोखिमअनुसार रकम राख्नुपर्ने
अन्तरदिवसीय कारोबारमा जोखिम व्यवस्थापनका लागि लगानीकर्ताले कारोबार गर्नुअघि निश्चित रकम राख्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सेयरको जोखिम र मूल्यमा हुने उतारचढाव अनुसार आवश्यक रकम फरक हुन सक्नेछ।
बोर्डले अन्तरदिवसीय कारोबार सुरू गर्न कानुनी व्यवस्था, कारोबार प्रणाली, जोखिम व्यवस्थापन, राफसाफ तथा बजार निगरानी प्रणालीमा थप तयारी आवश्यक रहेको जनाएको छ।
बोर्डले सार्वजनिक गरेको यो अवधारणापत्र हो।
यस्तो व्यवस्था लागू हुन आवश्यक नियम, पूर्वाधार र अन्य तयारी पूरा गरेपछि चरणबद्ध रूपमा लागू गर्ने प्रस्ताव गरिएको हो।
मानौं, कुनै लगानीकर्ताले बिहान कुनै कम्पनीको १ सय कित्ता सेयर अन्तरदिवसीय कारोबारका लागि खरिद गर्यो। उसले सोही दिन १ सय कित्ता बिक्री गर्न सक्नेछ।