न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डअनुसार कायम गर्न नसकेका चारवटा लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरिएको छ।
नेपाल राष्ट्र बैंकले २०८२ असार मसान्तको वित्तीय अवस्थाका आधारमा फरवार्ड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामाथि यस्तो कारबाही गरेको हो।
फरवार्ड लघुवित्तको २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत, धौलागिरी लघुवित्तको ६.३८ प्रतिशत, एनआइसी एसिया लघुवित्तले ६.३९ प्रतिशत मात्र न्यूनतम पुँजीकोष अनुपात थियो।
मातृभूमि लघुवित्तको अवस्था भने तुलनात्मक रूपमा कमजोर देखिएको छ। यसको न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र रहेको थियो।
नियामकीय मापदण्डअनुसार आवश्यक पुँजीकोष कायम नभएपछि यी संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम कारबाही गरिएको हो।
यसैबीच, अनिवार्य नगद मौज्दात कायम नगर्ने दुई लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नगद जरिबाना गरेको छ।
वीन नेपाल लघुवित्त वित्तीय संस्थाले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि प्रथम पटकका लागि ५८ रूपैयाँ ३८ पैसा नगद जरिबाना गरिएको छ।
सञ्जीवनी लघुवित्त वित्तीय संस्थाले भने लगातार चार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएको छ।
संस्थाले २०८२ चैत, २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो पटकका लागि जरिबाना गरिएको हो।
सञ्जीवनीलाई पहिलो पटक ७१३ रूपैयाँ, दोस्रो पटक १ हजार ६७ रूपैयाँ, तेस्रो पटक १४ हजार १२ रूपैयाँ र चौथो पटक १४१० रूपैयाँ नगद जरिबाना गरिएको हो।
पुँजीकोष अनुपात बैंक तथा वित्तीय संस्थाले सम्भावित जोखिम बहन गर्न कायम गर्नुपर्ने वित्तीय सुरक्षाको महत्वपूर्ण आधार हो।
त्यस्तै, अनिवार्य नगद मौज्दात बैंक तथा वित्तीय संस्थाले नियामकसँग कायम गर्नुपर्ने निश्चित नगद मौज्दात हो।