ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत आयोजनाको प्राथमिक सेयर निष्कासन (आइपिओ) मा सुरक्षाकर्मीका लागि २ प्रतिशत हिस्सा छुट्याउने व्यवस्था गर्न लागिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले विपद्को समयमा सुरक्षाकर्मीले अहोरात्र खटिएर काम गर्ने भएकाले उनीहरूको योगदानको कदर गर्दै जलविद्युत आयोजनाको आइपिओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्न लागिएको बताए।
उनका अनुसार सुरक्षाकर्मीलाई जलविद्युत आयोजनाको आइपिओमा २ प्रतिशत हिस्सा छुट्याउने गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकिएको छ।
विपद् तथा कठिन परिस्थितिमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूलाई जलविद्युत आयोजनाको आइपिओमा सहभागी गराउने व्यवस्था गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ।
हाल जलविद्युतको सेयरमा स्थानीय बासिन्दा, आयोजना कर्मचारी, सामूहिक लगानी कोषलाई आरक्षण दिइएको छ।