बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई)को सहकार्यमा 'नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३' आयोजना हुने भएको छ।
'नेक्स्टजेन नेपाल: एआई, उद्यमशीलता र भविष्यको रोजगारी' भन्ने नाराका साथ आगामी असोज २३ गते काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको हो।
ोसम्मेलन आयोजना गर्नेसम्बन्धी समझदारीपत्रमा सिबिफिन र एनबिआईबीच असोज ५ गते सोमबार हस्ताक्षर भएको छ।
सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई), युवा उद्यमशीलता र रोजगारीका विषयमा छलफल हुने आयोजकले जनाएको छ।
कार्यक्रममा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहने बताइएको छ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा प्रविधिको उपयोगजस्ता विषयमा छलफललाई अघि बढाउने बताए।
उनका अनुसार सम्मेलनले नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सम्बन्धलाई थप विस्तारित र व्यावसायिक बनाउन सहयोग गर्नेछ।
युवा उद्यमीमा वित्तीय साक्षरता बढाउने, डिजिटल बैंकिङको प्रयोग विस्तार गर्ने र जिम्मेवार रूपमा कर्जा उपयोग गर्ने संस्कृतिको विकासमा समेत सम्मेलनले भूमिका खेल्ने उनको भनाइ छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले विकास गरेका नवीन वित्तीय उत्पादनलाई लक्षित वर्गसम्म पुर्याउन र उत्पादनशील क्षेत्रमा सुरक्षित कर्जा लगानी बढाउन सम्मेलनले सहयोग गर्ने उपाध्यायले बताए।
नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताए।
स्टार्टअपका लागि बिउ पुँजी, नीतिगत व्यवस्था तथा युवा उद्यमीले वित्तीय पहुँच पाउने विषय बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष जोडिएकाले सिबिफिनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।
देशभरबाट करिब ४०० उद्यमी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्रमैत्री नीति निर्माण र लगानीको वातावरण सुधारका लागि आवश्यक दिशाबोध गर्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार अहिले मुलुकका बाह्य आर्थिक सूचकहरू तुलनात्मक रूपमा बलियो अवस्थामा रहेका तथा बैंकिङ प्रणालीमा पर्याप्त तरलता र न्यून ब्याजदर कायम रहेको अवस्थामा सम्मेलन आयोजना हुन लागेको हो।
सम्मेलनले स्टार्टअप, नयाँ प्रविधि तथा नवप्रवर्तनमा काम गरिरहेका र त्यस क्षेत्रमा प्रवेश गर्न खोजिरहेका युवा उद्यमीलाई आवश्यक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।
साथै, वित्तीय क्षेत्रको दिगो विकास र युवा उद्यमशीलताको प्रवर्द्धनमा सम्मेलनले नयाँ आयाम थप्ने आयोजकको विश्वास छ।