धादिङको चेपाङ बस्तीमा सामुदायिक पर्यटनमार्फत स्थानीय परिवारलाई आम्दानीको अवसर सिर्जना गरिरहेका उत्सव ढकाल, महिनावारी स्वच्छता सामग्री वितरणलाई प्रविधिसँग जोड्ने समाधान विकास गरिरहेका रमेश साउद र खेर जान सक्ने सामग्रीलाई अपसाइकल गरी झोलालगायत उपयोगी उत्पादनमा रूपान्तरण गर्दै वातावरणीय दिगोपन र जिम्मेवार उपभोगलाई प्रवर्द्धन गरिरहेकी, स्थानीय कारीगरका सीपलाई बजारसँग जोडिरहेकी नसना बज्राचार्य।
यी फरक पृष्ठभूमिका उद्यमीलाई जोड्ने साझा सूत्र हो, उद्यमशीलतामार्फत सामाजिक समस्या समाधान गर्ने प्रयास।
नेपालमा हरेक वर्ष हजारौं युवाले व्यवसाय सुरू गर्ने सपना देख्छन्। तर व्यवसाय दर्ता गर्नु र त्यसलाई दिगो रूपमा सञ्चालन गर्नु फरक कुरा हो। ग्राहकको आवश्यकता बुझ्ने, वित्तीय व्यवस्थापन गर्ने, बजार विस्तार गर्ने, सक्षम टोली निर्माण गर्ने तथा बदलिँदो व्यावसायिक वातावरण अनुसार आफूलाई अनुकूल बनाउनेजस्ता चुनौतीका कारण धेरै सम्भावना बोकेका उद्यम पनि अपेक्षित उचाइमा पुग्न सकिरहेका हुँदैनन्।
यही कारण उद्यमशीलताको सफलतामा पुँजी मात्र पर्याप्त हुँदैन। ज्ञान, सीप, मार्गदर्शन, व्यावसायिक सञ्जाल र बजारको बुझाइ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
यही आवश्यकता सम्बोधन गर्ने उद्देश्यले नबिल बैंकले सन् २०२१ मा 'नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप' (नबिल एसएसई) सुरू गरेको हो।
धादिङको चेपाङ बस्तीमा कुनै समय पर्यटक आऊलान् र स्थानीय परिवारले आफ्नो घरमै आम्दानीको अवसर पाऊलान् भन्ने कल्पना पनि सहज थिएन। तर यही ठाउँमा उद्यमी उत्सव ढकालको एउटा सोचले परिवर्तन ल्याएको छ।
नबिल एसएसईको दोस्रो समूहका फेलोसमेत रहेका ढकालले आफ्नो कम्पनी 'गेज नेपाल ट्राभल एन्ड टुर्स' मार्फत सामुदायिक पर्यटनको जग बसालेका छन्। अहिले यहाँका चेपाङ बस्तीमा पर्यटकहरूको उल्लेख्य संख्या देख्न सकिन्छ। उनीहरू यहाँ घुम्न मात्रै आउँदैनन्, स्थानीय आवास, खानपानसँगै सांस्कृतिक अनुभव पनि लिइरहेका छन्।
यसले एकातिर पर्यटन प्रवर्द्धन भएको छ भने अर्कोतर्फ स्थानीय समुदायलाई अतिरिक्त आम्दानीको स्रोत दिएको छ।
ढकाल भन्छन्, 'नबिल एसएसई फेलोसिपले मलाई सफलतालाई केवल आम्दानी वा पर्यटकको संख्याबाट होइन, मानिस, समुदाय र वातावरणमा परेको प्रभावबाट पनि मापन गर्न सिकायो।'
ढकालजस्तै नबिल एसएसईका फेलो राजविक्रम महर्जन भने प्रविधिको प्रयोगमार्फत विपदमा राहत र उद्धारमा सक्रिय बनिरहेका छन्। गत भदौमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि राहत तथा उद्धारमा उनको कम्पनी एयरलिफ्ट टेक्नोलोजीले ड्रोनको प्रयोग गरेर खोज, राहत र उद्धारमा ठूलो सहयोग गर्यो।
नबिल एसएसईको पहिलो समूहका सदस्य उद्यमी महर्जनले स्थापना गरेको एयरलिफ्ट कम्पनीले अहिले विपद व्यवस्थापनमा मात्रै होइन, दुर्गम क्षेत्रमा सामग्री ढुवानीलाई ड्रोनमार्फत सहज बनाएको छ।
नबिल एसएसई तेस्रो समूहकी नसना बज्राचार्यको 'रिकृति' ले पनि फेलोसिपमा सिकेको ज्ञान र सीपमार्फत कपडाको रिसाइक्लिङ गर्ने र खेर जान सक्ने सामग्रीलाई अपसाइकल गरी झोला लगायत उपयोगी उत्पादनमा रूपान्तरण गर्दै वातावरणीय दिगोपन र जिम्मेवार उपभोगलाई प्रवर्द्धन गरिरहेको छ।
उनका अनुसार कार्यक्रममा सहभागी भएपछि उनमा उत्पादन व्यवस्थापन, साझेदारी तथा व्यवसाय सञ्चालनलाई व्यवस्थित रूपमा हेर्ने दृष्टिकोण विकास भएको छ।
'यस व्यवसायबाट पहिले मासिक करिब तीन हजार रूपैयाँ आम्दानी गर्ने एक कारीगर अहिले नेतृत्वदायी भूमिकासहित मासिक करिब २० हजार रूपैयाँसम्म कमाउन सफल भएका छन्, यसको श्रेय नबिल एसएसईलाई जान्छ,' उनले भनिन्।
धेरै युवासँग नवीन सोच र काम गर्ने हुटहुटी हुन्छ। तर त्यो सोचलाई दिगो व्यवसायमा रूपान्तरण गर्न आवश्यक ज्ञान, मेन्टरिङ, सञ्जाल र व्यावसायिक अभ्यासको अभाव उनीहरूका लागि चुनौती बन्ने गरेको छ।
सुदूरपश्चिमका रमेश साउद पनि नबिल एसएसई आफ्नो उद्यमी सोचमा मार्गनिर्देशक बनेको बताउँछन्। उनले स्थापना गरेको 'केचो ग्रुप' ले महिनावारी स्वच्छता सामग्री तथा गर्भनिरोधक साधनका लागि स्मार्ट भेन्डिङ मेसिनमार्फत समाधान विकास गरिरहेको छ।
'ग्राहकलाई के चाहिन्छ भन्ने अनुमान गर्नुभन्दा उनीहरूका वास्तविक समस्या बुझ्नुपर्छ भन्ने कुरा फेलोसिपबाट सिक्यौं,' साउद भन्छन्, 'धेरै सुविधा थप्दै जानु नै मूल्य सिर्जना गर्नु होइन भन्ने बुझाइ पनि यहीँबाट विकसित भयो।'
महिनावारी स्वच्छता सामग्री तथा गर्भनिरोधक साधन सहज रूपमा उपलब्ध गराउने चुनौतीलाई साउदले प्रविधिसँग जोडेर समाधान खोजिरहेका छन्।
साउदले नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३५३ वटा विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गरी किशोरीहरूको महिनावारी स्वच्छता र सहज पहुँचमा सहयोग पुर्याइरहेका छन्।
उनीहरूजस्ता सयौं युवा उद्यमीका लागि नबिल बैंकले सुरू गरेको नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप (नबिल एसएसई) मार्गदर्शक बनेको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार बैंकले समुदायमा आधारित उद्यमीको पहिचान गरी उनीहरूलाई दिगो उद्यम निर्माणका लागि आवश्यक ज्ञान, सीप, मार्गदर्शन र उद्यमशीलता इकोसिस्टमसँग जोड्न यो कार्यक्रम सुरू गरिएको थियो। यस कार्यक्रमले उद्यमशीलतालाई आर्थिक वृद्धिसँगै सामाजिक रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्ने उनको बुझाइ छ।
'नबिल बैंक सधैं आर्थिक समृद्धिसँगै सामाजिक रूपान्तरणको यात्रामा प्रतिबद्ध छ। नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्स युवा परिवर्तनकर्मी र उद्यमीहरूलाई आफ्नो सोचलाई प्रभावकारी कार्यमा रूपान्तरण गर्ने अवसर हो,' उनले भने।
यस कार्यक्रमले उद्यमी बन्ने सपना देख्ने नेपाली युवालाई लक्षित गरी नबिल बैंकले सुरू गरेको हो। कार्यक्रममा सहभागी गराई उनीहरूको क्षमता अभिवृद्धि तथा मार्गदर्शन गर्नु यसको उद्देश्य हो।
बैंकका अनुसार व्यवसाय दर्ता गर्नु र त्यसलाई दिगो रूपमा सञ्चालन गर्नेसम्मको यात्राका लागि तयार पार्ने किसिमले कार्यक्रम डिजाइन गरिएको हुन्छ। यसमा व्यावसायिक ढाँचा, लक्षित ग्राहकको आवश्यकता बुझ्ने, वित्तीय व्यवस्थापन, बजार विस्तार, बदलिँदो व्यावसायिक वातावरण अनुसार आफूलाई अनुकूल बनाउनेजस्ता चुनौतीका विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूले कार्यक्रममा सिकाउँछन्।
साथै फेलोहरूले अनुभव आदानप्रदान गर्छन् र सञ्जाल विस्तार गर्ने अवसर पनि पाउँछन्।

विचार र उद्यमबीचको दुरी घटाउने प्रयास
नबिल बैंकले सन् २०२१ मा प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सुरू गरेको थियो। नयाँ सोच र केही गरौं भन्ने जोस भएका युवाहरूलाई त्यो सोचलाई दिगो व्यवसायमा रूपान्तरण गर्न एउटा लामो यात्रा तयार गर्नुपर्छ। यसका लागि आवश्यक ज्ञान, मार्गदर्शन, सञ्जाल र व्यावसायिक अभ्यासको अभावबाट उनीहरू गुज्रिने गरेका हुन्छन्।
विशेषगरी कोभिड–१९ महामारीपछि रोजगारीका अवसर खुम्चिँदै जाँदा उद्यमशीलता केवल व्यक्तिगत आयआर्जनको विकल्प मात्र नभई आर्थिक पुनरुत्थानको माध्यमका रूपमा पनि हेरिन थालियो।
यही सन्दर्भमा नबिल एसएसईको अवधारणा अघि सारिएको बैंकको भनाइ छ।
उद्यमीलाई व्यवसाय सञ्चालनका व्यावहारिक पक्ष बुझ्न, ग्राहकको आवश्यकता पहिचानदेखि वित्तीय योजना, व्यावसायिक मोडल विकास, नेतृत्व क्षमता अभिवृद्धि र बजार पहुँच विस्तारसम्मका विषयलाई कार्यक्रममा समेटिएको छ।
तालिमभन्दा फराकिलो प्लेटफर्म
नबिल एसएसईको दायरा एउटा तालिममा मात्रै सीमित नरही उद्यमशीलता प्लेटफर्मका रूपमा विकास भएको छ। त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने फेलोसिप कार्यक्रममा आवासीय सिकाइ, परामर्श, क्षेत्र अवलोकन, सहकर्मी सिकाइ, व्यावसायिक मोडल विकास र पिचिङसम्मका प्रक्रिया समेटिएका छन्।
कार्यक्रम अन्तर्गतको सर्टिफिकेट कोर्स देशभरका विभिन्न शैक्षिक साझेदार संस्थामार्फत सञ्चालन हुँदै आएको छ। विद्यार्थी, प्रारम्भिक चरणका उद्यमी तथा उद्यमशीलतामा रूचि राख्ने व्यक्तिलाई लक्षित यस कार्यक्रमले छोटो अवधिमै उद्यमशीलताको आधारभूत ज्ञान प्रदान गर्दै आएको छ।
सन् २०२१ मा सुरू भएको कार्यक्रम अहिले पाँचौं वर्षमा प्रवेश गरेको छ। यस अवधिमा कार्यक्रमबाट प्रशिक्षित भएका सहभागी र उनीहरूले सिर्जना गरेका उद्यमहरूको तथ्यांकले यसको प्रभाव झल्काउँछ।
बैंकका अनुसार फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक हजार ५८० जना सहभागीलाई तालिम प्रदान गरिसकिएको छ। तालिम लिएकाहरूले ३१८ वटा उद्यम स्थापना गरी १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भइसकेका छन्।
फेलोसिप कार्यक्रममार्फत हालसम्म सम्पन्न ६ वटा समूहबाट ११३ जना प्रशिक्षित भइसकेका छन्। जसबाट ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ। त्यस्तै, सर्टिफिकेट कोर्समार्फत एक हजार ४६७ जना सहभागी लाभान्वित भएका छन्।
यसका साथै २२५ वटा उद्यम स्थापना भएको बैंकले जनाएको छ। यी तथ्यांक केवल संख्या मात्र होइनन्। हरेक संख्याभित्र उद्यम स्थापना, रोजगारी सिर्जना र समुदायस्तरमा परिवर्तनका अनेक कथा समेटिएका छन्।
नबिल एसएसईको अर्को विशेषता भनेको सिकाइ, प्रयोग र पुनरवलोकनमा आधारित संरचना हो। सहभागीहरूले सिकेका अवधारणा आफ्नै व्यवसायमा लागू गर्छन् र त्यसपछि आफूले प्राप्त गरेका परिणामबारे समीक्षा र छलफल गर्छन्। यसले सिकाइलाई कक्षाकोठाभन्दा बाहिर व्यावहारिक निर्णयसँग जोड्छ।
सातौं समूहको तयारी
बैंकका अनुसार कार्यक्रमअन्तर्गत हालसम्म छ वटा फेलोसिप समूह सम्पन्न भइसकेका छन्। आगामी सातौं समूह तथा नयाँ सर्टिफिकेट कोर्सका लागि आवेदन खुला गरिएको छ। आवेदन दिने अन्तिम मिति सन् २०२६ अक्टोबर १२ तोकिएको छ।
यसका लागि १८ वर्ष पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
बैंकले दिगो उद्यम र रोजगारी सिर्जना गर्नुका साथै बृहत्तर सामुदायिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेका महिला, युवा, गरिब, वञ्चित व्यक्ति र सीमान्तकृत समुदायका प्रतिबद्ध तथा उद्यमशील सोच भएका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहन गरिने जनाएको छ।
कार्यक्रममा पछिल्ला पाँच वर्षमा एक हजार ५८० भन्दा बढी सहभागी भइसकेका छन् भने ३१८ उद्यम र १९ हजारभन्दा बढी रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएका छन्।