केही साता अघि साइबर आक्रमणका कारण ७२ वटा ब्रोकर कम्पनीको कारोबार प्रणाली प्रभावित भयो। त्यसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक दिन सेयर कारोबार नै रोक्नुपर्यो।
यी समस्या कम गर्न भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचना प्रविधिसम्बन्धी नयाँ नीति लागू गरेको छ।
बोर्डले आजबाट 'नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३' कार्यान्वयनमा ल्याएको हो।
बोर्डका अनुसार नेपालको पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित प्रयोग बढाउन, प्रविधिजन्य जोखिम घटाउन र नियामकीय क्षमता सुदृढ गर्न नयाँ नीति ल्याइएको हो।
यसले धितोपत्र तथा वस्तु विनिमय बजारको कामलाई प्रविधिमैत्री, प्रभावकारी र जवाफदेही बनाउने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ।
नयाँ नीतिले बजारसँग सम्बन्धित निकायलाई उनीहरूको काम र जिम्मेवारीअनुसार तीन तहमा वर्गीकरण गरी फरकफरक सुरक्षा मापदण्ड लागू गर्ने व्यवस्था गरेको छ।
पहिलो तहमा धितोपत्र बोर्ड, बजार सञ्चालक र केन्द्रीय निक्षेप सेवा रहनेछन्।
दोस्रो तहमा धितोपत्र दलाल, धितोपत्र व्यापारी र मर्चेन्ट बैंकर रहनेछन्। तेस्रो तहमा क्रेडिट रेटिङ एजेन्सी र सेयर रजिस्ट्रार रहनेछन्।
अब चौबीसै घण्टा साइबर निगरानी
नयाँ नीतिले बजारका पूर्वाधार संस्थालाई साइबर सुरक्षामा विशेष व्यवस्था गर्नुपर्ने बनाएको छ।
त्यस्ता संस्थाले सुरक्षा सञ्चालन केन्द्र स्थापना गर्नुपर्नेछ।
आफ्नै केन्द्र स्थापना गर्न नसके मान्यता प्राप्त सुरक्षा सेवा प्रदायकमार्फत चौबीसै घण्टा साइबर जोखिमको निगरानी गर्नुपर्नेछ।
'बजार पूर्वाधार संस्थाहरूले सुरक्षा सञ्चालन केन्द्र (एसओसी) स्थापना गरी वा मान्यता प्राप्त प्रबन्धित सुरक्षा सेवा प्रदायकमार्फत चौबीसै घण्टे साइबर खतरा निगरानीको व्यवस्था मिलाउनुपर्ने' सेबोनको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, प्रविधिसम्बन्धी उपकरण तथा सेवा खरिद गर्दा सेवा प्रदायकको विश्वसनीयता र जोखिम परीक्षण गर्नुपर्नेछ।
बाह्य कम्पनीबाट सूचना प्रविधिसम्बन्धी सेवा लिँदा सम्झौतामा तथ्यांक सुरक्षाको जिम्मेवारी, नियामक निकायले लेखापरीक्षण गर्न पाउने अधिकार र सेवा प्रदायक परिवर्तन गर्दा अपनाउनुपर्ने प्रक्रिया स्पष्ट गर्नुपर्नेछ।
प्रणाली बिग्रिए पनि कारोबार नरोकिने
बजारमा प्राविधिक समस्या वा साइबर आक्रमण हुँदा कारोबार, राफसाफ तथा फर्छ्योट प्रणाली र केन्द्रीय निक्षेप प्रणाली प्रभावित हुन सक्छन्।
यस्तो अवस्थामा सेवा छिटो पुनःसञ्चालन गर्न विपद् पुनःप्राप्ति संयन्त्र स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ।
बजारका महत्वपूर्ण पूर्वाधार संस्था तथा व्यवसायीले व्यवसाय निरन्तरता योजना र विपद् पुनरुत्थान योजना पनि बनाउनुपर्नेछ।
यी योजनाको वर्षमा कम्तीमा एकपटक परीक्षण गर्नुपर्नेछ। परीक्षणको प्रतिवेदन बोर्डमा बुझाउनुपर्ने व्यवस्था छ।
सेबोनका अनुसार बजार कारोबार, राफसाफ तथा फर्छ्योट संयन्त्र र केन्द्रीय निक्षेप प्रणालीको सुरक्षित प्रयोगका लागि 'अन्तर्राष्ट्रिय अभ्यासअनुरूपको विपद् पुनःप्राप्ति संयन्त्र स्थापना तथा व्यवस्थापन गर्नुपर्ने' व्यवस्था नीतिमा गरिएको छ।
यसले कुनै एउटा डेटा सेन्टर वा सेवा प्रदायकमा समस्या आउँदा त्यसको असर समग्र बजारमा पर्न नदिने अपेक्षा गरिएको छ।
नयाँ नीतिले बजारको नियमन र सुपरिवेक्षणमा समेत प्रविधिको प्रयोग बढाउने लक्ष्य राखेको छ।
यसका लागि सुपरिवेक्षकीय प्रविधि र नियामकीय प्रविधिको प्रयोग गरिनेछ।
त्यस्तै, वित्तीय प्रविधि र नियामकीय स्यान्डबक्समार्फत नयाँ प्रविधिको परीक्षण तथा प्रयोगलाई प्रोत्साहन गरिनेछ।