काठमाडौंबाट करिब १२ किलोमिटर टाढा सूर्यविनायक, गुण्डु भक्तपुरमा अवस्थित छ काठमाडौं वर्ल्ड स्कुल। करिब ५५ रोपनीमा फैलिएको यो स्कुलले अहिले शिक्षामा फरकपन खोजिरहेको छ।
२०७२ सालमा उनले ल्याएको अवधारणा अनुसार स्कुल २०७५ सालदेखि सञ्चालनमा आएको हो। यो स्कुलको अवधारणा डाक्टर खगेन्द्रप्रसाद ओझाले ल्याएका हुन्। उनले नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्ने र शिक्षाका नाममा विदेशिरहेको ठूलो धनराशी राेक्ने अवधारणासहित यो स्कुल सञ्चालनमा ल्याएका हुन्।
उनी लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध रहेर विभिन्न कलेज तथा विद्यालयहरू सञ्चालन गरिरहेका छन। उनी त्रिविको व्यवस्थापन संकायका 'गोल्ड मेडलिस्ट' हुन्। ओझा स्कुलका बाेर्ड अध्यक्ष हुन्।
यही सोचलाई पूर्ण रूप दिन उनीसँग जोडिए अन्य सहकर्मी, अनि स्थापना भयो काठमाडौं वर्ल्ड स्कुल।
स्कुलको प्रधानाध्यापकमा केशर खुलाल छन्। खुलालले २६ वर्ष शिक्षा क्षेत्रमा बिताइसकेका छन्। लामो समय बुढानिलकण्ठ स्कुलको प्रधानाध्यापक भइसकेका उनी अनुभवी र दक्ष व्यक्ति हुन्।
प्रधानाध्यापक खुलाल गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरू लागिपरेको बताउँछन्।
'नेपालमा गुणस्तरीय शिक्षाको माग धेरै छ। विद्यार्थीले पाउने शिक्षाको गुणस्तरकै सम्बन्धलाई लिएर हामीले नेतृत्व लिने प्रयास गरेका हौं,' प्रधानाध्यापक खुलालले भने, 'गुणस्तरीय शिक्षा विद्यार्थीलाई एकै ठाउँ कोचेर आउँदैन। त्यहाँको वातावरण खुला भएपछि नै विद्यार्थीको सोचाइ खुला हुन्छ भन्ने सोचले यो स्कुल खोलेका हौं।'
यो स्कुलले भौतिक पूर्वाधारलाई धेरै प्राथमिकता दिएको छ। विद्यालय परिसरमा फुटसल, बास्केटबल, स्विमिङ पुल, क्रिकेट मैदान र ब्याटमिन्टन कोर्ट छ। त्यस्तै इनडोर र आउटडोर दुवै खाले खेलमा ध्यान दिइएको छ।
वैज्ञानिक र आधुनिक शिक्षा प्रणाली अवलम्बन गर्दै आफूहरू अघि बढिरहेको स्कुलका वरिष्ठ प्रशासकीय अधिकृत शिवराज ओझा बताउँछन्।
स्कुल संचालनमा आउँदै गर्दा सिजी होल्डिङ्स कम्पनी प्रमुख साझेदारको रुपमा जोडियो। सिजी पनि केही वर्षयता शिक्षामा केही गर्ने योजनामा काम गरिरहेको छ।
इन्जिनियर मिथलेश कुमार झा सिजी होल्डिङ्सबाट त्यहाँ जोडिएपछि उनी व्यवस्थापन समितिका अध्यक्ष छन्। शिक्षा क्षेत्रमा झा परिचित नाम हो। उनी सिजी होल्डिङ्सका चार वटा कलेजमा प्रमुख भएर काम गरिरहेका छन्।
विद्यालयको धेरै जग्गा हुँदा दुइटा फाइदा हुने प्रधानाध्यापक खुलाल बताउँछन्।
'पहिलो कक्षा सकिएपछि खुला वातावरण भए विद्यार्थीहरू प्रकृतिसँग मिसिन पाउने भए। उनीहरूको सोचाइ स्तर नै फरक हुने भयो,' खुलालले भने, 'सहरमा एकदमै सुविधा सम्पन्न स्कुल छन् तर एकदमै सानो क्षेत्रमा फैलिएका। उनीहरू र खुला ठाउँमा हुर्किएका विद्यार्थीको सोचाइमा एकदमै फरक हुन्छ।'
पहिलो त स्कुलको डिजाइन गर्दा नै सिंगापुर, क्यानडा लगायत ठाउँका नाम चलेका स्कुल घुमेर आर्किटेक्टसँगै एउटा गुणस्तरीय स्कुल बनाउन के–के चाहिन्छ र भवनको सम्बन्ध कस्तो हुनुपर्छ अध्ययन गरेर बल्ल डिजाइन गरेको उनले बताए।
त्यसपछि सुविधामा अहिलेको आधुनिक शिक्षाका लागि के–के चाहिन्छ, त्यसलाई पनि एकदमै ध्यान दिइएको उनको भनाइ छ।
सूचनाको जमानामा 'आइसिटी बेस्ड' शिक्षा यसको मुख्य अवधारणा हो। छात्र र छात्राको भिन्नै होस्टल छ जसमा खेलकुद सुविधा छ। देशका विभिन्न स्थान र छिमेकी मुलुकबाट समेत विद्यार्थीहरू यहाँ पढ्न आउने उनले जानकारी दिए।
विद्यालयले अनुशासनमा बढी जोड दिएका कारण अभिभावककको रोजाइमा आफूहरूको विद्यालय पर्ने वरिष्ठ प्रशासकीय अधिकृत शिवराज ओझा बताउँछन्।
'कोरोनाका बेला पनि हामीलाई सामाजिक दुरी राखेर विद्यार्थी पढाउन अप्ठ्यारो पर्ने छैन,' ओझाले भने, 'किनभने हामीसँग भौतिक पूर्वाधार र प्रशस्त जग्गा छ।'
विद्यालयमा उपयुक्त कक्षा कोठा छ। बाहिरको क्षेत्रका साथै क्यान्टिन पनि फराकिलो छ। उनका अनुसार खाना पकाउने 'सेफ टिम' ले स्वस्थकर खानामा ध्यान पुर्याइरहेको छ। बाहिरका र जंक खाना निषेध छ।
'पढाइका कुरामा पनि साना केटाकेटीदेखि माथिसम्ममा शिक्षक र विद्यार्थीबीच विश्वासको भावना जगाउनुपर्छ भनेर एकदम जोड दिइएको छ,' प्रधानाध्यापक खुलालले भने।
प्राथमिक तहका विद्यार्थीलाई स्कुलका उप–प्राधानाध्यापकसमेत रहेकी भानी राणाले हेर्छिन्। उनले अमेरिकाको बैंक स्ट्रिट कलेज अफ एजुकेसनमा 'एजुकेसनल लिडरसिप' विषयमा स्नातक गरेकी हुन्।
यो स्कुलको अर्को विशेषता भनेको प्रत्येक वर्ष नेपाल र विदेशी विज्ञ बोलाएर शिक्षकहरूलाई तालिम दिनु हो।
'यहाँको प्राथमिक तहमा शिक्षा आइपिसी भन्ने करिकुलम प्रयोग गरिएको छ जुन बेलायतबाट स्वचालित बालमैत्री शिक्षा हो,' खुलालले भने, 'यसले किताबको घोकन्ते विद्याभन्दा खोज मुलक शिक्षालाई प्रोत्साहन गर्छ।'
उनका अनुसार यहाँ शिक्षकले विद्यार्थीलाई खेलहरू खेलाउँदै पढाइन्छ। सामूहिक छलफल हुन्छ। विद्यार्थीलाई सरसामग्री र शिक्षकको सहयोग दिइन्छ। तर उनीहरूले आफैं सिकून् भन्ने उद्देश्य स्कुलको छ।
नेपाली परिप्रेक्ष्यमा विदेशी पाठ्यक्रमलाई मात्रै प्राथमिकता दिन मिल्दैन। त्यसकारण, आइपिसीले दिन खोजेको पाठ्यक्रमलाई कायम राख्दै स्कुलले नेपाली पाठ्यक्रमलाई पनि अगाडि लगेको खुलालले बताए।
'हामी पाठ्यक्रमले तोकेको त दिन्छौं नै। तर घोकेर धेरै नम्बर ल्यायो भनेर अभिभावकको आँखामा छारो हाल्ने हाम्रो उद्देश्य होइन,' उनले भने, 'विद्यार्थी अलि आत्मविश्वासी होऊन्, कुनै हिच्किचाहटबिना बोल्ने हुन्। ठूलो मान्छेलाई आदर गर्ने तर नडराउने हुन्। मन नलागेका कुरा विरोध गर्न सक्ने पनि हुनुपर्छ भन्ने हामी चाहन्छौं।'
ठूलो क्षेत्रफलमा फैलिएको यो स्कुलले कक्षामा सीमित विद्यार्थी राखेर पढाउने गरेको छ। अहिले कक्षा १ देखि ८ सम्ममा कुल १ सय ८० विद्यार्थी छन्। माध्यमिक तहमा कक्षा ९ सम्म र 'प्लस टु' पढाइ हुन्छ। 'प्लस टु' तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय पढाइ हुन्छ।
स्कुलमा विद्यार्थी बिरामी परे नर्सिङ स्टेशन र विद्यार्थीलाई कहिलेकाहीँ चाहिने मनोवैज्ञानिक परामर्शका लागि परामर्श कक्ष छ।
प्रधानाध्यापक खुलालका अनुसार विज्ञानका ल्याबहरू यहाँ विशेष छन्। अन्य विद्यालयमा जस्तो एकै ठाउँमा फिजिक्स, केमेस्ट्री, बायोलोजीका काम नभई भिन्दा भिन्दै कोठा छन्।
वर्ल्ड स्कुल हुनलाई केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
'अन्तर्राष्ट्रिय स्कुल' भनेर धेरैले त्यत्तिकै राखेका हामी देख्छौं। तर त्यो राख्ने स्वीकृति पाउन केही अन्तर्राष्ट्रिय मापदण्डहरू छन्। स्कुलले दिने सुविधा, पाठ्यक्रम, शिक्षाको गुणस्तर सबै कुरा हेरेर त्यो पाइन्छ। ती मापदण्ड पालना गरेरै यो नाम पाएका हौं,' खुलालले भने।
सहरको कोलाहलदेखि दिक्क भएका र प्रकृतिसँग नजिक रहन चाहनेका लागि यो स्कुल राम्रो विकल्प हुन सक्छ।
प्रधानाध्यापक खुलालको भनाइ छ, 'यदि तपाईं आफ्नो बच्चाको चौतर्फी विकास चाहनुहुन्छ भने काठमाडौं वर्ल्ड स्कुल राम्रो छनौट हो।'