सिजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी तेस्रोपटक ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचिमा परेका छन्।
भारतको म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो।
ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट, लीला, एकोर, ¥याडिसन, ताजजस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा राहुल पनि परेका हुन्।
राहुलले चौधरी ग्रुप (सीजी)को ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन्। उनी यो सूचीका सबैभन्दा कान्छा सदस्य रहेको बताइएको छ।
‘होटेलियर’ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो। राहुल सन् २०१८ र २०१९ को सूचीमा पनि थिए।
राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी हस्पिटालिटी होल्डिङ्स’को प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी लिएका छन्।
होल्डिङ्सले १२ मुलुकका ९४ गन्तव्यमा १३५ होटल/रिसोर्ट सञ्चालन गरिरहेको छ। यी होटल/रिसोर्टमा ८ हजारभन्दा बढी कोठा छन्। ८० वटा होटल/रिसोर्ट त भारतमा मात्रै छन्।