मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेपछि अमेरिकाले आफ्नो पेट्रोलियम भण्डारणबाट तेल निकालेर बजारमा पठाउने भएको छ।
अमेरिकाले आफ्नो तेल भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकालेर बजारमा पठाउन लागेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।
अमेरिकी ऊर्जा मन्त्रालयले अर्को सातादेखि यो प्रक्रिया सुरू हुने जनाएको छ। भण्डारण गरिएको तेल दैनिक केही परिमाणमा बजारमा पठाइने छ। यो प्रक्रिया कम्तिमा चार महिनासम्म चल्ने पनि ऊर्जा मन्त्रालयले जनाएको छ।
तेलको अभाव र मूल्य वृद्धिलाई सन्तुलनमा राखि बजारलाई स्थिर बनाउन अमेरिकाले पेट्रोलियम भण्डारणबाट बजारमा तेल पठाउन लागेको हो।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए)का ३२ राष्ट्रहरूले पनि आफ्नो भण्डारणबाट बजारमा तेल पठाउन सहमति गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
यद्यपि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने क्रम भने रोकिएको छैन। ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार साँझ करिब प्रतिब्यारोल १०० डलर नजिक पुगेको थियो।
हप्ताको सुरूवातमा ब्रेन्ट कच्चा तेलको मूल्य ९० डलरभन्दा कम थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भण्डारण गरिएको तेल बजारमा पठाएर आपूर्ति बढाउने र मूल्यवृद्धि नियन्त्रणमा लिइने बताएका छन्।
'हामी भण्डारबाट केही तेल निकाल्छौं र पछि फेरि भरेर राख्छौं,' उनले पत्रकारहरूसँग भने।
अमेरिकामा पेट्रोलको औसत मूल्य लगातार ११ दिन बढेर प्रतिग्यालोन ३.५८ डलरसम्म पुगेको छ। युद्ध र तेल आपूर्तिमा देखिएको अवरोधका कारण मूल्यमा दबाब बढिरहेको छ।