आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिण्डरको दरमा खाना पकाउने एलपी ग्यास बजार पठाउने भएको छ।
बजारमा ग्यास अभाव हुने देखिएपछि बिहीबार बसेको निगमको बैठकले यस्तो निर्णय गरेको हो।
अर्को सूचना जारी नभएसम्मका लागि निगमले प्रतिसिलिण्डरमा ७.१ किलो एलपी ग्यास बिक्री हुने बताएको छ। उक्त परिमाणको ग्यासको मूल्य ९ सय ५५ रूपैयाँ तोकिएको छ।
बिहीबारदेखि नै काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा एलपी (खाना पकाउने) ग्यास लिन जानेहरूको लामो लाइन देखिन थालेको छ।
निगमले बजारमा ग्यास अभाव नरहेको बताउँदै आएपनि करिब दुई/तीन महिनादेखि नै सर्वसाधारणले ग्यासको लागि संघर्ष गरिरहेका छन्। निगमले दुई/तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्चले बढेको र आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो निर्णय गरेको पनि बताएको छ।
यसैबीच भारतमा समेत ग्यासको अभाव देखिन थालेपछि यहाँको लाइन नै लाग्न थालेको हो।
भारतीय सञ्चार माध्यमहरूले त्यहाँ केही दिनअघि नै घरेलु प्रयोगका एलपिजी सिलिन्डर रिफिल बुकिङ गर्न पाइने न्यूनतम अवधि २१ दिनबाट बढाएर २५ दिन पुर्याइएको उल्लेख गरेका थिए।
यहाँ पनि पेट्रोलियम पदार्थ भारतबाटै आयात हुने हो। नेपाल आयल निगम (एनओसी) ले यहाँ आवश्यक हुने पेट्रोलियम पदार्थ भारत सरकारको स्वामित्व भएको इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट ल्याउँछ।
अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला बढाएपछि तेलमार्गको रूपमा चिनिने होर्मुज मार्गमा केही समयदेखि अवरोध देखिएको छ।
इरानका तेल प्रशोधन क्षेत्रमा समेत हमला भइरहेको खबर बाहिरीएपछि विश्वभर पेट्रोलियम पद्धार्थको भाउ बढिरहेको छ।
यसकारण पेट्रोल, डिजेल र ग्यासको माग तथा खपत पनि बढिरहेको छ।
होर्मुज मार्ग हुँदै बिहीबार भारतमा साउदी कच्चा तेल भने आइपुगेको द हिन्दुले उल्लेख गरेको छ। भारतले अहिले एलपी ग्यास विशेषगरी साउदी अरेबिया, युएई र कतारबाट ल्याउने गर्छ। भारत आयात हुने ९० प्रशित एलपी ग्यास यी क्षेत्रबाट आउँछन्।
केही समयअघि मात्रै भारतले अमेरिकाको गल्फकोस्टबाट ल्याउने सहमति गरिसकेको छ भने नर्वेबाट समेत ग्यास ल्याउने पहल थालिरहको समाचारहरूमा बताइएको छ।