नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा प्रतिलिटर ३१ रूपैयाँ, डिजेलमा ५४ रुपैयाँ एलपी ग्यासमा प्रतिसिलिण्डर २१६ पैसाले बढेर आएको छ।
त्यसका कारण नेपाल आयल निगमले बाध्यतावस पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढी दरमा बढाउनुपरेको जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर १० रुपैयाँले बढाइएको छ।
एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।
नयाँ मूल्य गएरातिदेखि लागू भएको छ।
निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७१ रुपैयाँ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम गरिएको छ।
यस्तै, डिजेल/मट्टितेलको मूल्य क्रमशः १४९ रुपैयाँ ५० पैसा, १५१ रुपैयाँ ५० पैसा र १५२ रुपैयाँ प्रतिलिटर तोकिएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समेटिएका छन्।
*यसअघि त्रुटि हुन गएकोमा सच्याइएको छ-सम्पादक