वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबलविहीन, मिसावटयुक्त, न्यून गुणस्तरका तथा चोरी पैठारी गरिएका सामानको बिक्री वितरणमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।
विभागले विज्ञप्ति जारी गर्दै गैरकानुनी व्यापारिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने जनाएको हो।
भौतिक बजारसँगै अनलाइन प्लेटफर्ममार्फत पनि दैनिक उपभोगका खाद्यवस्तु, पेय पदार्थ र लत्ताकपडा अवैध रूपमा बिक्री भइरहेको उजुरी प्राप्त भएको विभागले जनाएको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै कानुनी कारवाही प्रक्रिया अघि बढाउने जानकारी दिएको हो।
मिसावट गर्ने, चोरी पैठारीका सामान बेच्ने, न्यून गुणस्तरका वस्तु बिक्री गर्ने तथा कानुनविपरीत व्यापार गर्ने कार्य दण्डनीय रहेको विभागले जनाएको छ।
विभागले उत्पादन, पैठारी, ढुवानी, सञ्चय र बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोकेका दायित्व, सर्त र बन्देज पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।
साथै, बजार अनुगमनलाई थप तीव्र बनाइने र उपभोक्ताको स्वास्थ्य तथा अधिकारमाथि खेलबाड गर्ने जोसुकै व्यवसायीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिने विभागले जनाएको छ।