आजभन्दा ठिक ५९ वर्षअघि, सन् १९६७ अक्टोबर २१ का दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एउटा अनौठो घटना हुँदै थियो।
हजारौं मानिस अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनतर्फ अघि बढिरहेका थिए।
उनीहरूमध्ये केहीले यस्तो घोषणा गरेका थिए, जसलाई सुन्दा कसैले पत्याउन सक्दैनथ्यो।
उनीहरू अमेरिकी सैन्य शक्तिको मुख्यालयलाई जमिनबाट ३०० फिट माथि उठाउन चाहन्थे!
न कुनै ठूलो मेसिन थियो, न भवन उचाल्ने उपकरण। उनीहरूको योजना थियो — मन्त्र फुक्ने, संगीत बजाउने र विशेष अनुष्ठानमार्फत पेन्टागनलाई हावामा उठाउने।
पेन्टागनमाथि लागेको 'दुष्ट आत्मा' हटेपछि भियतनाम युद्ध रोकिने उनीहरूको सांकेतिक सन्देश थियो।
यो कुनै भवनमा विस्फोट गराउने धम्की थिएन। बरू संसारकै शक्तिशाली सेनालाई चुनौती दिन अपनाइएको एउटा अनौठो राजनीतिक प्रदर्शन थियो।
अमेरिकी राष्ट्रिय अभिलेखालयले सुरक्षित राखेको ऐतिहासिक विवरण अनुसार त्यस दिन वासिङ्टनमा करिब एक लाख युद्धविरोधी प्रदर्शनकारी भेला भएका थिए।
आखिर पेन्टागनलाई हावामा उठाउने यस्तो असम्भव विचार कसरी जन्मियो? अनि त्यो दिन वास्तवमा के भयो?
युद्धको विरोध गर्ने अनौठो तरिका
सन् १९६७ मा अमेरिका भियतनाम युद्धमा गहिरोसँग फसिसकेको थियो।
लाखौं अमेरिकी सैनिक युद्धमा संलग्न थिए। युद्ध लम्बिँदै जाँदा सैनिकको मृत्यु बढिरहेको थियो। युद्ध लड्न युवाहरूलाई अनिवार्य सैनिक सेवामा पठाउने व्यवस्थाले पनि अमेरिकी समाजमा असन्तुष्टि फैलाइरहेको थियो।
विश्वविद्यालयका विद्यार्थी, साहित्यकार, कलाकार, धार्मिक अगुवा र नागरिक अधिकार अभियन्ताहरू युद्धविरूद्ध उभिन थालेका थिए।
उनीहरूका अगाडि एउटा समस्या थियो।
सरकारले उनीहरूको विरोध सुनेको थिएन। सामान्य प्रदर्शन, भाषण र नाराबाजीबाट युद्ध रोक्न सकिएको थिएन।
त्यसैले केही अभियन्ताले यस्तो कार्यक्रम गर्ने विचार गरे, जसले सरकारमाथि दबाब बढाउनुका साथै संसारभरिका सञ्चारमाध्यमको ध्यान तानोस्।
यसका लागि उनीहरूले छाने — अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय पेन्टागन।
अमेरिकाको रक्षा प्रशासन सञ्चालन हुने पाँचकुने विशाल भवन त्यति बेला भियतनाम युद्धको सबभन्दा शक्तिशाली प्रतीकमध्ये एक थियो।
अभियन्ताहरूको सोच थियो, युद्धको विरोध गर्न अमेरिकी राजनीतिक शक्तिको केन्द्र मात्र होइन, सैन्य शक्तिको केन्द्रमै पुग्नुपर्छ।
उक्त अभियानमा जेरी रूबिन, एबी हफम्यान, कवि एलेन गिन्सबर्ग र कलाकार माइकल बोवेनजस्ता व्यक्ति सक्रिय थिए।
स्मिथसोनियन संस्थाको नेसनल म्युजियम अफ अमेरिकन हिस्ट्रीका अध्येता पिटर मान्सोले सन् २०१७ मा प्रकाशित ऐतिहासिक अध्ययनमा यस्तो विचित्र प्रदर्शनको योजना कसरी बनेको थियो भन्ने वर्णन गरेका छन्।
उनका अनुसार पेन्टागनलाई जमिनबाट उठाउने विचार कलाकार माइकल बोवेनले अघि सारेका थिए।
कवि ग्यारी स्नाइडरले पेन्टागनबाट दुष्ट आत्मा हटाउने अनुष्ठानको विचार सुझाएका थिए। बोवेनले त्यसमा अर्को कल्पना थपे — पेन्टागनलाई नै हावामा उठाउने।
युद्धविरोधी नेता हफम्यानले त्यसलाई अझ नाटकीय घोषणा बनाए।
'हामी पेन्टागनलाई ३०० फिट माथि उठाउनेछौं,' उनले भनेका थिए।
धेरै आयोजकले यो साँच्चै सम्भव छ भन्ने विश्वास गरेका थिएनन्। उनीहरूका लागि यस्तो घोषणा जनताको ध्यान खिच्ने र सैन्य सत्ताको शक्तिलाई व्यंग्य गर्ने माध्यम थियो।
केही सहभागी भने आध्यात्मिक अनुष्ठानबाट भवनलाई साँच्चै उठाउन सकिने विश्वास राख्थे।
पेन्टागनबाहिर के भयो?
अक्टोबर २१ को प्रदर्शन 'नेसनल मोबिलाइजेसन कमिटी टू इन्ड द वार इन भियतनाम' नामक युद्धविरोधी अभियानले आयोजना गरेको थियो।
प्रदर्शनकारीहरू सुरूमा वासिङ्टनको प्रसिद्ध लिंकन मेमोरियल आसपास भेला भए।
त्यहाँ बालरोग विशेषज्ञ तथा युद्धविरोधी अभियन्ता बेन्जामिन स्पक, कवि रोबर्ट लोवेल र अन्य वक्ताहरूले युद्धविरोधी अभिव्यक्ति दिए। गायक फिल ओक्सले गीत प्रस्तुत गरे।
त्यसपछि प्रदर्शनकारीहरू पोटोम्याक नदी पार गर्दै भर्जिनियाको आर्लिङ्टनस्थित पेन्टागनतर्फ अघि बढे।
कति मानिस त्यहाँ पुगे भन्नेमा ऐतिहासिक विवरणहरू फरक छन्।
अमेरिकी राष्ट्रिय अभिलेखालयले प्रारम्भिक भेलामा करिब एक लाख मानिस रहेको अनुमान उल्लेख गरेको छ।
अमेरिकी रक्षा मन्त्रालयको सन् १९६८ को वार्षिक प्रतिवेदनमा भने पेन्टागनतर्फ करिब २५ हजार प्रदर्शनकारी गएको उल्लेख छ। अमेरिकी मार्सल सेवाले करिब ३५ हजार मानिस त्यतातर्फ गएको जनाएको छ।
त्यसैले प्रारम्भिक सभामा उपस्थित सबै मानिस पेन्टागनसम्म पुगेका थिए भन्ने होइन।
प्रदर्शनकारीहरू पेन्टागन पुग्दा उनीहरूलाई रोक्न ठूलो संख्यामा सैनिक, सैन्य प्रहरी र संघीय मार्सलहरू तैनाथ थिए।
सुरक्षाकर्मीहरूले भवन वरिपरि घेरा बनाएका थिए। प्रदर्शनकारीहरू युद्ध रोक्न माग गरिरहेका थिए।
त्यही भीडबीच योजनाबद्ध अनुष्ठान सुरू भयो।
कवि एलेन गिन्सबर्ग मन्त्र उच्चारण गर्न थाले। संगीत समूह 'द फग्स' का एड स्यान्डर्सले अनुष्ठानको नेतृत्व गर्दै पेन्टागनबाट दुष्ट आत्मा बाहिर निस्कनुपर्ने सन्देश दिए।
उनको समूहले बारम्बार उद्घोष गर्यो — 'आउट, डिमन्स, आउट!'
अर्थात्, 'दुष्ट आत्माहरू, बाहिर निस्क!'
केही प्रदर्शनकारीले धार्मिक तथा आध्यात्मिक परम्पराबाट प्रेरित गतिविधि गरे। केहीले गीत गाए। केहीले प्रेम र शान्तिको सन्देश फैलाए।
त्यस दिन फूल पनि प्रदर्शनको महत्त्वपूर्ण प्रतीक बन्यो।
सैनिकको बन्दुकको नालमा फूल थमाउने दृश्यले युद्धविरोधी आन्दोलनको भावनालाई शक्तिशाली रूपमा अभिव्यक्त गर्यो। पेन्टागनमा गरिएका यस्ता प्रदर्शनका तस्बिर अमेरिकी इतिहासका चर्चित दृश्य बने।
तर सबै गतिविधि शान्तिपूर्ण थिएनन्।
पक्राउ परे ६८२ जना
सुरक्षा घेरा तोड्न खोज्ने केही प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भयो। केही मानिसले भवनभित्र पस्ने प्रयास गरे।
अमेरिकी मार्सल सेवाको आधिकारिक ऐतिहासिक विवरण अनुसार प्रदर्शन क्रममा ६८२ जना पक्राउ परे। प्रदर्शनकारी, सैनिक र मार्सलसहित ४७ जना घाइते भएको उक्त अभिलेखमा उल्लेख छ।
अर्कातर्फ, रक्षा मन्त्रालयको ऐतिहासिक विवरणमा पक्राउ पर्ने संख्या ६६० भन्दा बढी र घाइतेको संख्या ४५ उल्लेख छ।
घटनाको स्वरूपबारे पनि सरकारी अभिलेखमै भिन्नता पाइन्छ।
मार्सल सेवाले यसलाई हिंसात्मक झडपका रूपमा चित्रण गरेको छ। सेनाको सन् १९६८ को वार्षिक प्रतिवेदनले भने भएका घटनाहरू तुलनात्मक रूपमा साना र सुरक्षा निकायको नियन्त्रणभित्र रहेको उल्लेख गरेको छ।
प्रदर्शन अक्टोबर २२ सम्म जारी रह्यो। पक्राउ परेकाहरूमध्ये धेरैलाई प्रतिबन्धित क्षेत्रमा बसेको र त्यहाँबाट हट्न नमानेको आरोप लगाइएको थियो।
घटनाको दुई दिनपछि, अक्टोबर २३ मा राष्ट्रपति लिन्डन बी जोनसनले रक्षामन्त्री रोबर्ट म्याकनामारा र महान्यायाधिवक्ता राम्से क्लार्कलाई एउटा लिखित सन्देश पठाए।
अमेरिकन प्रेसिडेन्सी प्रोजेक्टमा सुरक्षित उक्त सन्देशमा जोनसनले सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै केही प्रदर्शनकारीले हिंसा र कानुन उल्लंघन गरेको आरोप लगाए।
यसले युद्धप्रति अमेरिकी समाजमा बढ्दै गएको मतभेद पनि देखाउँथ्यो।
एकातिर युद्धविरोधीहरू आफ्नै सरकारले अनावश्यक युद्ध लम्ब्याएको ठान्थे। अर्कातिर सरकार र युद्धका समर्थकहरू प्रदर्शनकारीको कार्यशैली तथा सैनिक अभियानमाथिको चुनौतीको विरोध गरिरहेका थिए।
भवन त उठेन, तर इतिहास बन्यो
त्यस दिन पेन्टागन जमिनबाट एक इन्च पनि उठेन। तर असम्भव लाग्ने त्यो घोषणाले संसारभर चर्चा पायो।
अमेरिकी लेखक नर्मन मेलर स्वयं उक्त प्रदर्शनमा सहभागी थिए। उनी पक्राउ समेत परेका थिए।
पछि उनले त्यसै अनुभवमा आधारित 'द आर्मिज अफ द नाइट' पुस्तक लेखे।
उक्त पुस्तकले सन् १९६९ मा प्रतिष्ठित पुलिट्जर पुरस्कार र नेसनल बुक अवार्ड जित्यो।
सैन्य शक्तिको विरोध गर्न साहित्य, संगीत, व्यंग्य र आध्यात्मिक अनुष्ठानको प्रयोग गरिएको त्यो प्रदर्शन अमेरिकी प्रतिरोध आन्दोलनको एउटा ऐतिहासिक उदाहरण बन्यो।
उक्त घटनासँग जोडिएको एउटा रोचक कुरा के भने, ५९ वर्ष बितिसक्दा पनि त्यसका सहभागीहरू आफ्नो असामान्य अभियानबारे चर्चा गरिरहेका छन्।
यही अक्टोबर १९ मा बेलायती पत्रिका 'द गार्डियन' ले पेन्टागन उठाउने अनुष्ठानमा सहभागी संगीतकार एड स्यान्डर्सको अन्तर्वार्ता प्रकाशित गरेको छ।
अहिले ८७ वर्ष पुगेका स्यान्डर्सले त्यो प्रदर्शन किन गरिएको थियो भन्ने सम्झिएका छन्।
उनका अनुसार युद्धविरोधी अभियानलाई जनताको ध्यान आवश्यक थियो। पेन्टागनलाई हावामा उठाउने प्रस्ताव जतिसुकै हास्यास्पद सुनिए पनि त्यसले आन्दोलनलाई एउटा स्पष्ट विषय दियो र ठूलो चर्चा दिलायो।
सन् २०१७ मा प्रदर्शनको ५०औं वर्षगाँठमा उनीहरूले अमेरिकी राष्ट्रपति कार्यालय तथा निवास ह्वाइट हाउस वरिपरि पनि त्यस्तै सांकेतिक अनुष्ठान गरेका थिए।
त्यस बेला पनि उनीहरूले दुष्ट आत्मालाई बाहिर निस्कन आह्वान गरे।
ह्वाइट हाउस पनि उठेन।
सन् १९६७ को पेन्टागन प्रदर्शनले तत्काल भियतनाम युद्ध रोक्न सकेन। अमेरिकाको प्रत्यक्ष सैनिक संलग्नता सन् १९७३ मा अन्त्य भयो भने भियतनाम युद्ध सन् १९७५ मा टुंगियो।
त्यसैले एउटै प्रदर्शनले युद्ध समाप्त गर्यो भन्न मिल्दैन।
तर यस घटनाले एउटा महत्त्वपूर्ण कुरा देखायो — सैन्य शक्तिको विरोध गर्न मानिसहरू बन्दुक वा विस्फोटक पदार्थ मात्रै होइन, व्यंग्य, कला, गीत, फूल र असम्भव लाग्ने कल्पना पनि प्रयोग गर्न सक्छन्।
५९ वर्षअघि पेन्टागनलाई आकाशमा उठाउने उनीहरूको प्रयास असफल भएको थियो।
तर अमेरिकी युद्धविरोधी आन्दोलनको इतिहासमा त्यस दिनको घटना अहिलेसम्म जीवित छ।
***