अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्र मैत्री रहेको प्रतिक्रिया दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभामा उनले निजी क्षेत्रको साथबिना मुलुकको अर्थतन्त्र सुधारको सम्भावना नरहेको भन्दै सरकार निजी क्षेत्र मैत्री हुने बताएका हुन्।
उनले निजी क्षेत्रसँग सरकारले उन्नत समझदारीको आधारमा सहकार्य गर्ने पनि प्रतिक्रिया दिएका छन्।
'निजी क्षेत्रसँगको उन्नत समझदारी कम्प्याक्ट कन्ट्रयाक्ट होइन कि कम्प्याक्ट गभर्मेन्ट र प्राइभेट सेक्टरबीचको एउटा उन्नत समझदारी कम्प्याक्टको आधारमा हुनेछ,' अर्थमन्त्री वाग्लेले भने।
उनले निजी क्षेत्रलाई नडराउनको लागि पनि आग्रह गरेका छन्।
केही व्यवसायी पक्राउ परेको विषयलाई लिएर भएका टिप्पणी प्रति उनले यस्तो बताएका हुन्।
'अहिलेको सरकार निजी क्षेत्रमैत्री रहेकोले कोही डराउनुपर्ने स्थिति छैन, अहिले जति व्यवसायी पक्राउ परेका छन्, उनीहरू यसअघिकै सरकार गरेको अनुसन्धानको आधारमा परेका हुन्,' अर्थमन्त्री वाग्लेले भने, 'राजनीति प्रभावका कारण अनुसन्धान दबाबमा परेकाहरूलाई पक्राउ गरी अनुसन्धान गरिएको हो, अरु तर्सिनुपर्ने कारण छैन।'
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई पखेटा फिँजाएर उड्न दिने, तर राज्यको नियामक उपस्थिति भने कमजोर नहुने तर्क गरेका छन्।
विगत केही वर्षमा नियामक निकायहरू कब्जा गरिएको कारण निजी क्षेत्रलाई विकृत बनाएको उनको प्रतिक्रिया छ।
आगामी बजेटको सन्दर्भ उठाउँदै अर्थमन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावका बेला सार्वजनिक गरेको वाचापत्रअनुसार नै बजेट आउने बताए।
'बजेट कस्तो आउँछ भनेर यसअघि हुने हाउगुजीलाई मेट्दै वाचापत्रमा उल्लेख गरेको अर्थतन्त्रका विषयलाई सम्बोधन गर्ने गरी बजेट लेखनको काम भइरहेको छ,' उनले भने।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले पनि वाचापत्रलाई सम्बोधन गर्नेगरी बजेट आउने प्रतिक्रिया दिएका थिए।