सुदूरपश्चिम प्रदेश सरकारले बजेटको तयारी नपुगेको भन्दै बजेट प्रस्तुत गर्ने समय सारेको छ।
सत्तारूढ दलमध्ये नेकपा (एमाले) का सांसदहरूले आफूहरूले मागेको जति बजेट नपाएको भन्दै विरोध गरेपछि बजेट वक्तव्यमा ढिलाइ भएको हो।
एमालेबाट सरकारमा सामेल कतिपय मन्त्रीहरूले बजेटको भागबण्डामा असहमति जनाउँदा समस्या उत्पन्न भएको स्रोतले बतायो।
सोमबार बेलुकी ५ बजे बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको भए पनि तयारी नपुगेको भन्दै राति ९ बजेसम्मको समय मागिएको प्रदेशसभा सचिव देबबहादुर बोगटीले बताए।
‘तयारी पुगेन भन्दै हामीसँग समय मागेको हुँदा उपलब्ध गराएका हौं,’ उनले भने, ‘राति नौ बजेको समय मागे बमोजिम उपलब्ध गराइएको हो।’
स्रोतका अनुसार असहमति कायमै रहेमध्ये रातिसम्म बजेट वक्तव्य प्रस्तुत हुने वा नहुने अनिश्चित रहेको स्रोतले बतायो।
सचिवालयका एक जना कर्मचारीका अनुसार अहिले सम्मको स्थिति नियाल्दा तोकिएको समय ९ बजेसम्म पनि बजेट आउँछ भन्ने यकिन नभएको बताए।
सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ६२ करोड, ९८ लाखको बजेट ल्याएको थियो। सुदूरपश्चिम सकारले यो पटक बढाएर बजेट ल्याउने तयारी गरेको थियो। आर्थिक वर्ष २०८३/८४ का लागि झन्डै ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहे पनि भागबण्डाका कारण अन्तिममा अन्यौलता थपिएको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नै पार्टी कांग्रेसभित्रकै लफडाका कारण जेठ अन्तिममा पार्टीको तर्फबाट मन्त्रीहरू फेरबदल गरेका थिए।
सत्ता साझेदार दल नेकपा (एमाले) पनि मन्त्रीहरू फेरबदल गर्ने कसरतमा जुटे पनि त्यो आन्तरिक किचलोका कारण त्यो सम्भव हुन सकेन।