पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट नगर सभामा प्रस्तुत गरेको छ।
महानगरकी उपप्रमुख मञ्जुदेवी गुरूङले शुक्रबार नगर सभामा बजेट पेस गर्दै पर्यटन, पूर्वाधार विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताइन्।
प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट सर्त, विशेष, समपूरक तथा समानीकरण अनुदानमार्फत ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी गण्डकी प्रदेश सरकारबाट समपूरक, विशेष तथा समानीकरण अनुदान गरी ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
महानगरले संघीय राजस्व बाँडफाँटबाट ३४ करोड ३४ लाख ७३ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ४ करोड १ लाख ५८ हजार रुपैयाँ, स्थानीय तह राजस्व बाँडफाँटबाट १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट २ अर्ब ५८ करोड ७३ लाख ११ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यसअनुसार महानगरको कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४१ लाख ६४ हजार रुपैयाँ रहने अनुमान छ।
कुल बजेटमध्ये ५५.१ प्रतिशत चालु तथा ४४.९ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
बजेटमा महानगरका ३३ वटै वडाका लागि एकमुष्ट ७२ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ। आर्थिक विकास कार्यक्रमका लागि १३ करोड १९ लाख रुपैयाँ, पूर्वाधार, सहरी विकास, सहरी उत्थानशीलता तथा जीवनयापन सुधार परियोजनाका लागि २ अर्ब ८९ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै स्वास्थ्य, शिक्षा तथा सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ९ करोड ९७ लाख रुपैयाँ र प्रशासनिक तथा कार्यालय सञ्चालन तथा कार्यक्रम खर्चका लागि १ अर्ब १० लाख रुपैयाँ छुट्याइएको छ।
बजेटले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, आधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्ने, रणनीतिक महत्वका सडक, पुल, ढल तथा खानेपानी पूर्वाधार स्तरोन्नति गर्ने, सार्वजनिक–निजी साझेदारीमार्फत निजी क्षेत्रको लगानी आकर्षित गर्ने तथा राजस्व सुधार योजना कार्यान्वयनलाई प्राथमिकता दिएको महानगरले जनाएको छ।
महानगरको आर्थिक विधेयक र विनियोजन विधेयक २०८३ समेत नगरसभामा पेस गरिएको छ।
आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा १ अर्ब १९ करोड ८७ लाख रुपैयाँले कम हो। चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो।