भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारतबीच कनेक्टिभिटी विस्तार र भारतीय लगानी बढाउनुपर्ने विषयलाई प्राथमिकतामा राखेका छन्।
उनले शुक्रबार विभिन्न उच्चस्तरीय भेटवार्ता तथा छलफलमा यी विषय उठाएका हुन्।
नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेचमा वाग्लेले नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल र ऊर्जा सञ्जाल विस्तार आवश्यक रहेको बताए।
उनले नेपाल–भारत व्यापार सन्धि पुनरावलोकन गर्नुपर्ने विषय पनि उठाए। व्यापार घाटा घटाउन र गैरभन्सार अवरोध हटाउन सन्धिमा समयानुकूल सुधार आवश्यक रहेको उनको भनाइ थियो।
नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार भइरहेको भन्दै वाग्लेले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधिमा भारतीय लगानी बढाउन आग्रह गरे।
विकास वित्तका नयाँ स्रोत परिचालन गर्नुपर्ने विषयमा पनि उनले जोड दिए। हरित वित्त र सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम उपयोग गर्नुपर्ने उनले बताए।
वाग्लेले नेपालले हालै बेहोरेको प्राकृतिक विपद्को विषय पनि उठाए। विपद्का बेला भारत सरकार र जनताले गरेको सहयोगप्रति उनले आभार व्यक्त गरे। विपद्पछिको पुनर्निर्माणमा ‘बिल्ड ब्याक बेटर’ अवधारणा लागू गरिरहेको उनले बताए।
जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि हिमाली क्षेत्रमा यसको असर बढी परेको उनले बताए। जलवायु न्यायको विषयमा भारतसँग मिलेर अन्तर्राष्ट्रिय मञ्चमा काम गर्नुपर्ने उनको भनाइ थियो।
गोलमेचमा भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्य सभा सदस्य जयराम रमेश, पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज शरणलगायत सहभागी थिए।
त्यस्तै अर्थशास्त्री दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसनका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भाजपा विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले, दक्षिण एसियाली कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर र भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृतिलगायत सहभागी थिए।
कार्यक्रममा सहभागी भारतीय विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासन र आर्थिक एजेन्डाबारे धारणा राखेका थिए।
छलफलमा सीमापार कनेक्टिभिटी, ऊर्जा सहकार्य र पारस्परिक विश्वासलाई नेपाल–भारत आर्थिक सम्बन्ध विस्तारका मुख्य आधारका रूपमा अघि बढाइएको थियो। द्विपक्षीय संयन्त्रलाई थप परिणाममुखी बनाउनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए।
वाग्लेले वर्तमान सरकार नीतिगत स्थायित्व, संस्थागत सुधार र सुशासनमा केन्द्रित रहेको बताए। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र पारदर्शी तथा जबाफदेही शासन आर्थिक समृद्धिको आधार भएको उनको भनाइ थियो।