नेपालमा वस्तु आयात लगातार बढिरहेको क्रम कात्तिकमा रोकिएको छ।
गत चैतदेखि लगातार हरेक महिना २ खर्ब रूपैयाँभन्दा बढीको वस्तु आयात हुँदै आएकोमा कात्तिकमा १ खर्ब ५६ अर्ब रूपैयाँको मात्रै आयात भएको छ।
कात्तिकमा ३० दिनमध्ये १९ दिन बिदा परेको थियो। लामो बिदाका कारण व्यापारिक गतिविधि प्रभावित हुँदा आयात पनि केही प्रभाव परेको हुन सक्ने अधिकारीहरूको बुझाइ छ।
भन्सार विभागको तथ्यांकअनुसार असोजमा २ खर्ब ४६ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो।
कात्तिकमा आयात ९० अर्ब रूपैयाँले घटेको हो। अघिल्लो महिनाको तुलनामा आयात ३६.५ प्रतिशत कम भएको छ।
तर, गत वर्षको कात्तिकसँग तुलना गर्दा आयात बढेको छ। गत वर्ष कात्तिकमा १ खर्ब ४१ अर्ब ३६ करोड रूपैयाँको वस्तु आयात भएको थियो।
यस वर्ष कात्तिकमा १ खर्ब ५६ अर्ब ३१ करोड रूपैयाँको आयात भएको छ। गत वर्षको तुलनामा आयात १०.५७ प्रतिशतले बढेको हो।
कात्तिकमा निर्यात भने घटेको छ। गत वर्ष कात्तिकमा २० अर्ब ७१ करोड रूपैयाँको वस्तु निर्यात भएकोमा यस वर्ष १९ अर्ब ८५ करोड रूपैयाँको मात्रै निर्यात भएको छ।
निर्यात ४.१३ प्रतिशतले घटेको हो।
आयात घटे पनि निर्यातमा कमी आउँदा कात्तिकमा व्यापार घाटा बढेको छ।
गत वर्ष कात्तिकमा १ खर्ब २० अर्ब ६५ करोड रूपैयाँ व्यापार घाटा रहेकोमा यस वर्ष १ खर्ब ३६ अर्ब ४५ करोड रूपैयाँ पुगेको छ। व्यापार घाटा १३.०९ प्रतिशतले बढेको हो।
कात्तिकमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ७६ अर्ब १७ करोड रूपैयाँ पुगेको छ।
गत वर्ष कात्तिकमा १ खर्ब ६२ अर्ब ८ करोड रूपैयाँको वैदेशिक व्यापार भएको थियो। कुल वैदेशिक व्यापार ८.६९ प्रतिशतले बढेको छ।
साउनदेखि कात्तिकसम्मको चार महिनामा भने आयात ३१.७७ प्रतिशतले बढेको छ।
यस अवधिमा ८ खर्ब ३ अर्ब ९ करोड रूपैयाँको वस्तु आयात भएको छ।
गत वर्षको पहिलो चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रूपैयाँको आयात भएको थियो।
चार महिनामा निर्यात ४३.४८ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब १४ करोड रूपैयाँ पुगेको छ।
गत वर्ष सोही अवधिमा ९३ अर्ब ४९ करोड रूपैयाँको निर्यात भएको थियो।
चार महिनामा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रूपैयाँ पुगेको छ।