सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)को प्रयोग नगर्न अनुरोध गरेको छ।
अहिले सरकारले नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गरेपछि धेरैजसोले भिपिएनको प्रयोग गरिरहेका छन्। यसरी प्रयोग गरेको भन्दै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भिपिएनको प्रयोग नगर्न अनुरोध गरेको हो।
भिपिएन भनेको इन्टरनेट प्रयोग गर्दा वास्तविक ठेगाना लुकाएर अरू स्थानबाट सामाजिक सञ्जाल चलाएको जस्तो देखाउने प्रविधि हो।
‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भिपिएनको प्रयोग नगर्न/नगराउन समेत अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा संकुचन गर्न नखोजेको र स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न खोजेको बताएको छ।
पछिल्लो समय हाम्रो पात्रो र ग्लोबल डायरी दर्ता भइसकेको छ। एक्स र विच्याटले आवश्यक विवरण माग गरेको छ।