एनसेलले देशभर विकसित भएको दुर्भाग्यपूर्ण घटनाप्रति मर्माहत हुँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
त्यस्तै मंगलबार कम्पनीको केन्द्रीय कार्यालयमा आन्दोलनकारी प्रवेश गरी तोडफोड गरेको पनि जनाएको छ।
दूरसञ्चार जस्तो अत्यावश्यक र सार्वजनिक सम्पत्तिमा क्षति पुग्दा सेवामा अवरोध भई उपभोक्तालाई नै मर्का पर्ने भएकाले त्यस्तो अवस्था नल्याउन कम्पनीले अनुरोध गरेको छ।
संकटको घडीमा उपभोक्तालाई निरन्तर सम्पर्कमा रहन सहज बनाउने प्राथमिकता रहेको बताउँदै एनसेलले आजदेखि आगामी दुई दिनसम्मका लागि निःशुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
यस्तो छ एनसेलको विज्ञप्तिः
हामी एनसेल परिवार देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएका छौं। यस दुःखद घडीमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दछौं।
आम उपभोक्तालाई परिवर्तन र संकटको समयमा देश विदेशमा रहेका आफन्तजनहरूसँग सम्पर्क निरन्तर कायम राख्नु हाम्रो प्राथमिकता हो।
२०८२ साल भदौ २४ गते मंगलबार यस कम्पनीको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरु प्रवेश गरेर तोडफोड भएको छ।
दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरूलाई मर्का पर्ने सुनिश्चित छ।
त्यसैले यस्ता अत्यावश्यक सेवा तथा सम्पत्ति माथि कुनै पनि क्षति नपुर्याइदिन हुन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्नु हुन हामी सम्पूर्णमा अनुरोध गर्दछौं।
उपभोक्ताहरूलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताका लागि, मंगलबारदेखि लागू हुने गरी अगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको जानकारी गराउँदछौं।
एनसेल परिवार