एनसेलले जेन जी आन्दोलकका क्रममा क्षति भोगेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई सूचना तथा सञ्चार प्रविधि (आइसिटी) उपकरण सहयोग स्वरुप प्रदान गरेको छ।
कम्पनीले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत सोमबार एक कार्यक्रम माझ यी उपकरणहरू हस्तान्तरण गरेको हो।
भदौ २३ र २४ गतेको जेन जी युवा समुहको विरोध प्रदर्शनका कारण उत्पन्न भएको तोडफोड र आगजनीका कारण नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनको भौतिक संरचना, कार्यलयका जिन्सी सामग्रीदेखि अभिलेख कागजातहरूमा समेतमा अत्यधिक क्षति भएको थियो।
यो सहयोगले कार्यलयका दैनिक कार्य सञ्चालनमा सहयोग पुग्ने भएको छ।
एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ, कानुन प्रबन्धक कैलाश प्रसाद न्यौपानेलगायतका प्रतिनिधीहरूले नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. एवं वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्रलाई ल्यापटप २ थान, डेक्स टप १ थान र प्रिन्टर २ थान, र सर्वोच्च अदालत बार एसोसिएसनका कार्यवाहक अध्यक्ष अम्बर बहादुर राउतलाई १ थान ल्यापटप, २ थान डेक्सटप र १ थान प्रिन्टर हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै मिश्रले एनसेलले प्रदान गरेको सामग्रीहरूले बारको कार्य सञ्चालनमा सहयोग पुग्ने र आगामी दिनमा समेत कम्पनी र बारकाबीच सहकार्य गर्न बार तत्पर रहेको बताउँदै कम्पनीलाई धन्यवाद दिए।
त्यसैगरी राउतले सर्वोच्च अदालत बारले करिब ५० लाखको क्षति व्यहोर्नु परेको र केही माइन्युटबाहेक केही बाँकी नरहेको अवस्थामा एनसेलले गरको यस्तो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।