नेपालमा ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा (स्थिर वा मोबाइल) पुगेको छ।
प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा बढी ९७.९ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९२.६ प्रतिशत रहेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१-८२ ले यस्तो देखाएको हो।
सर्वेक्षण अनुसार सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढ्दै गएको छ। प्रत्येक पाँचमध्ये चार (८२ प्रतिशत) घरपरिवारले इन्टरनेट सुविधा सहितको उपकरण प्रयोग गरिरहेका छन्।
१५–४९ वर्ष उमेर समूहका महिलामध्ये ६९.६ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ भने ७१.७ प्रतिशतले पछिल्ला तीन महिनामा मोबाइल फोन प्रयोग गरेका छन्।
सोही उमेर समूहका पुरुषमध्ये ९०.४ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ भने ८७.७ प्रतिशतले हालै मोबाइल फोन प्रयोग गरेको देखिन्छ।
यस सर्वेक्षणमा तथ्यांक संकलनका लागि नेपालका ७५० क्लस्टर (गणना क्षेत्र)समेटिएका छन्।
यसमध्ये सहरी क्षेत्रबाट २०४ क्लस्टर र ग्रामीण क्षेत्रबाट ३४६ क्लस्टर तथ्यांकीय विधिबाट छानिएका थिए। हरेक क्लस्टरबाट गणनाका लागि २४ वटा परिवारहरू छनोट गरिएको थियो।
यसरी छनोट गरिएका जम्मा १२ हजार ६५० परिवारहरूबाट पारिवारिक विवरण संकलन गरिएको थियो।
जसमा प्रत्येक परिवारमा भएका १५–४९ वर्ष उमेर समूहका महिला, १५–५४ वर्ष उमेर समूहका पुरुष, ५–१७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाको विवरण संकलन गरिएको थियो।