सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मंगलबार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा 'सेफर इन्टरनेट टुगेदर (एसआइटी)' कार्यक्रम आरम्भ गरेको घोषणा गरेको छन्।
यो सामाजिक अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ जसबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
हाल नमुना परियोजनाका रूपमा अघि सारिएको यो कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी साइबर सचेतना सत्रहरू सञ्चालन गरिनेछ।
कार्यक्रम अन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ।
ती पुस्तक कार्यक्रम सत्र पश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिनेछ।
पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयन पश्चात यो अभियान आगामि आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गरिने योजना रहेको छ।
यो वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस्ः एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई' रहेको छ।
नेपालमा एनसेल र नासा सेक्युरिटीजले संयुक्त रूपमा सुरू गरेको कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार आयोजित एसआइटी सत्रका क्रममा गरिएको थियो।
कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले सम्बोधन गर्दै डिजिटल सुरक्षा तथा आजको डिजिटल युगमा कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे आफ्ना बुझाइहरू विद्यार्थीहरूसमझ साँझा गरेका थिए।
एसआइटी कार्यक्रम नेपालमा सुरक्षित अनि समावेशी डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्ने एनसेल फाउन्डेसनको प्रतिवद्धतासँग जोडिएको छ।
यो सहकार्यले दुवै संस्थालाई जिम्मेवार डिजिटल प्रवर्धकका रूपमा स्थापित गर्दै र उदीयमान जोखिमहरूलाई सक्रिय रूपमा सम्बोधन गर्दै डिजिटल साक्षरता, दृढता तथा व्यापक डिजिटल इकोसिस्टममा विश्वास निर्माणमा योगदान पुर्याउनेछ।