टिकटकले नेपालको निर्वाचन आयोगसँगको सहकार्यमा 'निर्वाचन केन्द्र' सञ्चालनमा ल्याएको छ।
यस पहलमार्फत प्रयोगकर्ताले एकै स्थानबाट आधिकारिक र विश्वसनीय निर्वाचनसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
उक्त केन्द्रमा नेपालको निर्वाचन प्रक्रिया, कहाँ र कसरी मतदान गर्ने भन्ने विवरण, भ्रामक सूचना पहिचान गर्ने उपाय तथा आयोगका आधिकारिक स्रोतसँग प्रत्यक्ष जोडिने व्यवस्था गरिएको छ। साथै, निर्वाचनसम्बन्धी सामग्री र खोजहरूमा विशेष संकेत प्रयोग गरी प्रयोगकर्तालाई सिधै 'निर्वाचन केन्द्र'मा मार्गनिर्देशन गरिने जनाइएको छ।
दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोत्ताकिनका अनुसार निर्वाचन कुनै पनि लोकतन्त्रका लागि महत्त्वपूर्ण क्षण भएकाले सार्वजनिक संवादमा प्रभाव पार्ने मञ्चका रूपमा टिकटकले आफ्नो जिम्मेवारी बुझेको छ।
उनका अनुसार यस सहकार्यले सुसूचित सहभागिता प्रवर्द्धन गर्ने, शान्तिपूर्ण वातावरण सुदृढ गर्ने तथा सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित स्थान उपलब्ध गराउने लक्ष्य राखेको छ। 'निर्वाचन केन्द्र'ले नेपाली प्रयोगकर्तालाई उनीहरू जहाँ छन् त्यहीँबाट मतदानसम्बन्धी आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
यो पहल टिकटकले आफ्ना प्रयोगकर्तालाई मञ्चमा उपलब्ध सामग्री र खाताबारे आवश्यक सन्दर्भ जानकारी प्रदान गर्ने व्यापक प्रयासको एक अंश हो। टिकटकले हानिकारक भ्रामक सूचना तथा भ्रामक व्यवहारविरुद्ध कडा नीति अवलम्बन गर्दै आएको जनाएको छ। यसका लागि उन्नत सामग्री परीक्षण प्रविधि तथा विश्वभरका हजारौं सुरक्षा विज्ञहरूको सहयोग लिइएको छ। नेपालका लागि समर्पित निर्वाचन कार्यदल समेत परिचालन गरिएको जानकारी दिइएको छ।
नीतिअनुसार हानिकारक भ्रामक सूचना निषेध गरिएको छ। अपुष्ट सामग्रीमा संकेत राख्ने, सिफारिसका लागि अयोग्य बनाउने वा साझा गर्नुअघि प्रयोगकर्तालाई पुनर्विचार गर्न सुझाव दिने जस्ता उपाय अवलम्बन गरिन्छ। सामग्रीको सत्यता परीक्षणका लागि विश्वभरका २० भन्दा बढी तथ्य परीक्षण संस्थासँग सहकार्य गरिएको जनाइएको छ।
यसैगरी, मञ्चमा स्वाभाविक अन्तर्क्रियालाई कमजोर पार्ने प्रयासविरुद्ध पनि टिकटक सतर्क रहेको बताइएको छ। गोप्य प्रभाव सञ्चालन, नक्कली पहिचान तथा स्वचालित सञ्जालमार्फत कृत्रिम संलग्नता सिर्जना गर्ने गतिविधि निषेध गरिएको छ। यस्ता गतिविधिविरुद्ध गरिएका कारबाहीहरू प्रत्येक महिना पारदर्शिता केन्द्रमार्फत सार्वजनिक गरिने जनाइएको छ।
प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै यथार्थपरक कृत्रिम बौद्धिकताद्वारा निर्मित सामग्रीलाई अनिवार्य रूपमा चिन्हित गर्नुपर्ने व्यवस्था गरिएको छ। अन्य मञ्चमा सिर्जित कृत्रिम बौद्धिकतासम्बन्धी सामग्रीसमेत पहिचान गर्न सकिने प्रविधि प्रयोगमा ल्याइएको छ।
चिन्हित गरिएको भए पनि सार्वजनिक व्यक्तिलाई गलत रूपमा समर्थन गरेको देखाउने वा हैरानी तथा दुर्व्यवहार प्रस्तुत गर्ने हानिकारक कृत्रिम सामग्रीलाई अनुमति नदिइने स्पष्ट गरिएको छ।
आगामी आम निर्वाचनलाई लक्षित गर्दै निर्वाचन नैतिकतासम्बन्धी आफ्ना प्रयासबारे टिकटकले विश्वव्यापी निर्वाचन निष्ठा केन्द्रमार्फत निरन्तर जानकारी सार्वजनिक गर्दै जाने जनाएको छ।