नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै 'विज २४' नामको व्यवस्थापित वाइफाई सेवा उपलब्ध गराएको छ।
कम्पनीका अनुसार साना तथा मध्यम व्यवसायका सञ्चालकसँगको प्रत्यक्ष कुराकानी र क्षेत्रमा गरिएको परीक्षणका आधारमा विज २४ तयार गरिएको हो।
यस सेवामार्फत व्यवसायिक परिसरमा वाइफाईको पहुँच विस्तार गर्नुका साथै वाइफाई सञ्जाललाई क्लाउडमार्फत व्यवस्थापन गर्न सकिनेछ।
विज २४ मा ग्राहकका समस्याका लागि प्राथमिकता सहयोग सेवा पनि राखिएको कम्पनीले जनाएको छ।
वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार साना तथा मध्यम व्यवसायमध्ये धेरैले अझै घरायसी प्रयोजनका लागि प्रयोग हुने गरि जडान गरिएको इन्टरनेटमा निर्भर रहँदा आएका छन्।
त्यसकाकारण कार्यालय वा व्यवसायिक परिसरका केही स्थानमा वाइफाई नपुग्ने, व्यवसाय सञ्चालनका समयमा इन्टरनेट जडानमा समस्या आउने तथा सञ्जालको अवस्थाबारे पर्याप्त जानकारी नहुने समस्या देखिने गरेको उनले बताए।
'यीनै चुनौतीहरूको समाधानका रूपमा विज २४ ल्याइएको हो,' राजभण्डारीले भने।
उनका अनुसार क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो र सहकार्य कार्यालयलगायत व्यवसायलाई लक्षित गरी सेवा तयार गरिएको हो।
विज २४ का मुख्य सुविधा
कार्यस्थलभरि व्यवस्थापित वाइफाई
विज २४ अन्तर्गत व्यवसायिक परिसरको क्षेत्रफल, भौतिक संरचना र आवश्यकताका आधारमा वाइफाई सञ्जालको योजना तथा सुझाव उपलब्ध गराइने कम्पनीले जनाएको छ। एउटै राउटरमा निर्भर नरही आवश्यकताअनुसार सञ्जाल विस्तार गर्न सकिनेछ।
प्राथमिकता सहयोग
विज २४ प्रयोग गर्ने ग्राहकका लागि प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ। यसका लागि ०१-५९७००४० मा सम्पर्क गर्न सकिनेछ।
सञ्जाल विस्तार तथा सार्वजनिक स्थिर आइपी
विज २४ मा व्यवसायको आवश्यकता बढ्दै जाँदा वाइफाई सञ्जाल विस्तार गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।
साथै, सेवामा सार्वजनिक स्थिर आइपी पनि उपलब्ध हुनेछ, जुन सीसीटीभी, विभिन्न सफ्टवेयर तथा अन्य सूचना प्रविधिसम्बन्धी सेवा सञ्चालनमा प्रयोग गर्न सकिनेछ।
तीन तहमा सेवा
विज २४ राइज, ग्रो र प्रो गरी तीन तहमा उपलब्ध हुनेछ। यी योजनामा २०० एमबिपएिसदेखि १ जिबिपिएससम्मको इन्टरनेट जडान उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विज २४ को वार्षिक शुल्क ३० हजार रूपैयाँबाट सुरू हुनेछ, जसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर समावेश छैन।
विज २४ अन्तर्गत व्यवसायिक स्तरको राउटर, सार्वजनिक स्थिर आइपी र प्राथमिकता सहयोग समावेश गरिएको छ। यो सेवा नयाँ तथा सेवा नवीकरण गर्ने ग्राहकका लागि देशभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।