सिंगापुरको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडले चिनियाँ व्यवसायी एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकेको बताएको छ।
कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै एलिसले सन् २०२५ अगस्ट ३० मै औपचारिक रूपमा कम्पनी छाडेको र अहिले कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारेको हो।
एलिस पछिल्लो समय एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सन हुआङसँगको सम्बन्धका कारण चर्चामा छिन्। अमेरिकी अधिकारीहरूले उनलाई चिनियाँ जासुस भएको आशंका गरेका छन्।
रोयटर्सका अनुसार मेगास्पिडले एलिसका व्यक्तिगत तथा निजी मामिलाबारे टिप्पणी नगर्ने जनाएको छ।
कम्पनीले आइतबार जारी गरेको वक्तव्यमा आफ्नो व्यवसाय, आपूर्ति शृंखला र विश्वव्यापी सञ्चालनबारे सञ्चार माध्यममा आएका दाबीको पुष्टि हुने प्रमाण नभएको पनि उल्लेख गरेको छ।
कम्पनीले आफ्नो व्यवसाय वैधानिक र कानुनसम्मत रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। आफ्ना गतिविधिबारे उठेका प्रश्नको समीक्षा गर्न बाह्य कानुनी सल्लाहकार नियुक्त गरी विस्तृत आन्तरिक अनुसन्धानसमेत गराएको कम्पनीले जनाएको छ।
यसअघि सन् २०२५ अक्टोबरमा न्युयोर्क टाइम्सले मेगास्पिडमाथि अमेरिकी अनुसन्धान भइरहेको समाचार प्रकाशित गरेको थियो। अमेरिकी निर्यात नियन्त्रणमा रहेका एनभिडियाका कम्प्युटर चिप्स चिनियाँ ग्राहकले प्राप्त गर्न मेगास्पिडले सघाएको थियो कि थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको समाचारमा उल्लेख थियो।
चीनले उक्त आरोप अस्वीकार गरेको छ। मेगास्पिडले पनि अमेरिकी निर्यात नियन्त्रण सम्बन्धी नियम उल्लंघन गरेको पुष्टि भएको छैन।
वासिङ्टनस्थित अनुसन्धान संस्था सि४एडिएसले कम्पनीका अभिलेख अध्ययन गर्दा एलिस हुआङ सन् २०२३ मार्चमा मेगास्पिडको नियन्त्रणकारी सेयरधनी बनेको पाइएको थियो।
मेगास्पिड एसिया–प्रशान्त क्षेत्रमा एनभिडियाको व्यावसायिक साझेदार कम्पनी हो।
रोयटर्सका अनुसार मेगास्पिडको पछिल्लो वक्तव्यबारे अमेरिकी सरकार र एनभिडियाले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
एलिस र जेन्सेन हुआङको सम्बन्धबारे चर्चा हुन थालेपछि जेनसेनले एनभिडियाको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका छन्।
तर कम्पनीले राजीनामाको कारण स्पष्ट खुलाएको छैन। रोयटर्सले भने लाई सञ्चालक समितिले पदबाट हटाएको जनाएको छ।
जेनसेनको बहिर्गमनपछि एनभिडियाको नेतृत्व कोलेट क्रेसको हातमा पुगेको छ।
एनभिडियाकी प्रमुख वित्तीय अधिकृत (सिएफओ) क्रेस अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएकी हुन्।