अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य १३ वर्षयताकै उच्च भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम एफएक्स स्ट्रिटका अनुसार सोमबार चाँदीको मूल्य प्रति औंस ३६.४२ डलर पुगेको छ। यो १३ वर्षयताकै उच्च मूल्य हो।
'दि वाल स्ट्रिट जरनल'ले पनि केही दिनअघि प्रकाशित गरेको समाचारमा प्रति औंस चाँदीको मूल्य ३५.६८ डलर रहेको र यो १३ वर्षकै उच्च भएको उल्लेख गरेको थियो।
वाल स्ट्रिट जरनलका अनुसार सन् २०१२ फेब्रुअरी यताकै उच्च मूल्य हो।
सिएनबिसिटिभीले भारतमा चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको उल्लेख गरेको छ।
त्यहाँ प्रतिकेजी चाँदीको मूल्य एक लाख ६ हजार चार सय भारू पुगेको सिएनबिसिटिभीको समाचारमा बताइएको छ।
सिएनबिसिटिभीका अनुसार भारतमा सुनको मूल्यमा भइरहेको वृद्धिदरको तुलनामा चाँदीको मूल्य बढिरहेको छ।
त्यहाँ एक सातामा नै चाँदीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
औद्योगिक प्रयोजनामा समेत चाँदीको माग बढ्दै जानु, अमेरिकी डलरको भाउ घट्नु लगायतका कारणले पनि चाँदीको मूल्य बढिरहेको छ।
त्यस्तै, अमेरिकी केन्द्रीय बैंक फेडले बैंक लगायत वित्तीय संस्थाहरूले एक आपसमा लिने सापटी दर (ओभरनाइट रेट) घटाउने अपेक्षा गरिएको छ। यसले गर्दा ब्याज पाइने अन्य वित्तीय उपरकणभन्दा चाँदीले लगानीकर्ताहरूलाई तान्न सक्ने एमएसएनले उल्लेख गरेको छ।
अमेरिकी कम्पनी क्यापिटल च्वाइस अफ द क्यारोलाइनाजका प्रमुख कार्यकारी अधिकृत रोनी गिलिकिन चाँदीको मूल्यमा उच्च उतारचढाव रहने र ३० ४० वर्ष यतायसमा वार्षिक औसत चार प्रतिशत हाराहारी प्रतिफल भएकोले यो लगानीको लागि उपयुक्त नहुन सक्ने सुझाएका छन्।
उनले एमएसएनसँगको कुराकानीमा यस्तो बताएका हुन्। सेयर बजार बढ्ने क्रममा रहेकोले पनि चाँदीमा लगानी उपयुक्त नहुन सक्ने उनको भनाइ छ।
तर, सेयर बजारमा तुलनात्मक रूपमा तीव्र उतारचढाव हुने, सुनभन्दा कम मूल्यमा उसैगरी सुरक्षित हुन सकिने भएकोले लगानीकर्ताहरू यसमा आकर्षित हुनसक्ने गिलिकिनको बुझाइ छ।
नेपालमा पनि जेठ २३ गतेयता चाँदीको मूल्य लगभग स्थिर छ। अहिले प्रतितोला चाँदी दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
२०८० चैतमा चाँदी प्रतितोला न्यूनतम एक हजार चार सय ९० रूपैयाँमा कारोबार भइरहेको थियो।
यो अवधिमा नेपाली बजारमा पनि ४४ प्रतिशतले मूल्य बढेको हो।